काठमाडौं। बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २९ वर्षमा प्रवेश गरेको छ। बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम समेत गरेको संस्थाले २९ वटै प्रतिवद्धता समेत ब्यक्त गरेको छ।
संस्थाले आज २९ औं बार्षिकोत्सवको अवसरमा मुख्य कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष सिताराम काफ्लेले प्रतिवद्धता ब्यक्त गर्दै सरोकारवालामा शुभकामना समेत ब्यक्त गरेका छन् ।
अध्यक्ष काफ्लेले भनेका छन्, ‘सरोकारवाला निकायहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरले विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यतर्फ अझ सशक्त र दूरदर्शी ढंगले अघि बढ्न प्रेरणा प्रदान गरेको छ।
सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसाथ गर्दै समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर उकास्ने लक्ष्यका साथ यस संस्थाको स्थापना गरिएको हो।
“सदस्यको समृद्धिको लागि रोयल सहकारी’ भन्ने मूल मन्त्रलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्दै संस्थाले स्थानीय, ग्रामीण तथा शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गरी सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
२०५५ साल वैशाख ९ गते २५ जना युवाहरूको सक्रिय पहलमा २ लाख ५० हजार प्रारम्भिक पूँजीबाट स्थापना भएको यस संस्था आज २९ वर्षको सफल यात्रामा करिब १६० अर्बको कारोबार गर्न सफल भएको छ।
सुरुआती चरणमा काठमाडौं, अनामनगर स्थित भाडाको कोठाबाट सेवा सञ्चालन गरेको हाम्रो संस्था आज बसुन्धरा काठमाडौं स्थित आफ्नै करिब एक रोपनी क्षेत्रफलमा निर्मित आधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । साथै, फर्पिङ र टोखा सदस्य सेवा केन्द्रहरू समेत आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालनमा रहेका छन् ।
सानो प्रयासबाट सुरु भएको हामो यात्रा आज एक सुदृढ, विश्वासिलो तथा दिगो संस्थाको रूपमा स्थापित भई सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। सेवाग्राहीलाई उत्कृष्ट सहकारी सेवा प्रदान गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा संस्था सदैव क्रियाशील रहेको छ ।
संस्थाले मुक्तिनाथ समूहअन्तर्ग (मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ फूड बैंक लगायतका संस्थाहरूसँग सहकार्य गर्दै ‘गाउँको उत्पादन शहरमा र शहरको पूँजी गाउँमा’ भन्ने नारालाई आत्मसाथ गरेको छ।
यसअनुसार किसानहरूले उत्पादन गरेका कृषि उपजलाई प्रभावकारी रूपमा बजारसम्म पुर्याउने तथा कृषकहरूलाई आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सेवाहरू उपलब्ध गराउने कार्यमा संस्था सक्रिय रहेको छ।
साथै, कृषि श्रोत केन्द्रमार्फत किसानहरूलाई गुणस्तरीय बिउ (बिजन, आधुनिक कृषि औजार तथा उपकरण, जैविक एवं रासायनिक विषादी, जैविक तथा प्राङ्गारिक मल, सूक्ष्म पोषक तत्वहरू लगायतका कृषि इनपुटहरू निरन्तर रूपमा उपलब्ध गराइँदै आएको छ।
त्यसैगरी, राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीति बमोजिम सार्वजनिक, निजी र सहकारी साझेदारी लाई आत्मसाथ गर्दै कृषि तथा अन्य उत्पादनशील क्षेत्रहरूमा लगानी विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।
लघुवित्त कार्यक्रम मार्फत न्यून आय भएका तथा सीमान्तकृत परिवारहरूको जीवनस्तर उकास्न कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, व्यापार व्यवसाय लगायतका आयमूलक क्रियाकलापका लागि सदस्यहरूलाई प्राथमिकताका आधारमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
यस कार्यक्रमले विशेषगरी महिला सशक्तीकरणमा जोड दिँदै उद्यमशीलता विकास, सीपमूलक तालिम, खाद्य तथा वित्तीय साक्षरतामार्फत आत्मनिर्भर बनाउने कार्यलाई निरन्तर अघि बढाइरहेको छ ।’
अध्यक्ष काफ्लेले संस्थाका सेवा तथा सुविधाहरुलाई समयानुकूल अझ परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । आधुनिक प्रविधिको अधिकतम उपयोग, वित्तीय समावेशीकरणको विस्तार, सुशासनको सुदृढीकरण तथा दिगो विकासको मार्गमा अघि बढ्दै सदस्यहरूको जीवनस्तर उकास्ने प्रयास रहने उनको बिचार छ।
संस्थाका २९ प्रतिवद्धताः
१, सदस्यहरूको आर्थिक सशक्तीकरणमा प्राथमिकता दिने ।
२, पारदर्शिता र सुशासनलाई संस्थागत गर्ने ।
३, गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने ।
४, प्रविधिमैत्री सेवा विस्तार गर्ने ।
५, युवा तथा महिलाको सहभागिता बढाउने ।
६, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने ।
७, सदस्यहरूको बचत र लगानी सुरक्षित गर्दै सम्पत्तिको गुणस्तर वृद्धि गर्ने ।
८, ऋण प्रवाहलाई सरल, छरितो र प्रभावकारी बनाउने ।
९, उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने ।
१०, सहकारी शिक्षा तथा तालिमलाई निरन्तरता दिने ।
११, वातावरण संरक्षणमा योगदान पुर्याउने ।
१२, सामाजिक उत्तरदायित्व कार्यक्रमहरू विस्तार गर्ने ।
१३, विपन्न वर्गको पहुँचमा सेवा पुर्याउने ।
१४, वित्तीय अनुशासनलाई कडाइका साथ लागू गर्ने ।
१५, जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने ।
१६, सदस्य( केन्द्रित सेवा प्रणाली विकास गर्ने ।
१७, डिजिटल बैंकिङ तथा अनलाइन सेवाहरू विस्तार गर्ने ।
१८, संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
१९, सेवा पहुँच विस्तार गर्ने ।
२०, सदस्य सन्तुष्टि अभिवृद्धिमा ध्यान दिने ।
२१, नवप्रवर्तन तथा नयाँ परियोजनाहरू अघि बढाउने ।
२२, बजार व्यवस्थापन र आपूर्ति श्रृंखला सुदृढ बनाउने ।
२३, सहकार्य र साझेदारीलाई विस्तार गर्ने ।
२४, आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउने ।
२५, गुणस्तरीय मानव संसाधन विकास गर्ने ।
२६, दीगो विकास लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गर्ने ।
२७, संस्थाको दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने ।
२८, विश्वास र प्रतिष्ठा अझ मजबुत बनाउने ।
२९, समृद्धि र आत्मनिर्भरता तर्फ संस्थालाई अग्रसर बनाउने ।
Leave a comment