गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेज, नामसहित

गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेज, नामसहित :: Sahakari Akhabar

काठमाडौं । गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेज गरेको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराले पछिल्लो समय थप ७ सहकारी संस्था खारेज गरेको हो ।

कार्यालयले पर्वत, बागलुङ र स्याङ्जाका ७ सहकारी खारेज गरेको हो । सहकारी  सहकारी ऐन, २०७५को दफा ७१ को उपदफा (३) को खण्ड (क) मा लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता खारेजी गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम कार्यालयले असार १५ गते स्याङ्जा, पर्वत र बागलुङ समेतका जिल्लाहरूका निष्क्रिय सहकारी संघसंस्थाहरूको दर्ता खारेजी सम्बन्धी ३५ दिने सूचना प्रकाशन गरेको र थप ७ वटा सहकारीको दर्ता खारेज गरिएको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिएका छन् ।

यसअघि विभिन्न समयमा गण्डकी प्रदेशका ३५ वटा सहकारी संघसंस्थाको दर्ता खारेजी भइसकेको उनले जनाए । यी सहकारी खारेजीपछि कार्यालयको अभिलेखमा हाल ८७१ सहकारी संघरसंस्था कायम रहेको उनले बताए ।

लेखापरीक्षण गरी करचुक्ता गरेका, शेयर सदस्य, बचतकर्ता, ऋणी एवं सरोकारवाला कोही कसैसँगसँग लिनुदिनुपर्ने दायित्व नभएका, सञ्चालन हुनसक्ने अवस्था नरही साधारणसभाले खारेजीको निर्णय गरेका सहकारी संघसंस्थाको दर्ता खारेजी गरिँदै आएको छ, रिजालले भने ।

कार्यालयले दर्ता खारेजी गर्दा प्रकाशित सूचनामा शर्त राखेको छ, दर्ता खारेज गरिएका सहकारी संघसंस्थाले तिर्नु बुझाउनुपर्ने बचत, शेयर, अन्य कुनै दायित्व समेत रहे भएमा सम्बन्धित सहकारी संघसंस्थाका सञ्चालक लगायतका जिम्मेवार पदाधिकारी र व्यक्तिहरूले तिर्नु बुझाउनुपर्ने छ।

सहकारी संघसंस्थासँग कुनै लिनुदिनु पर्ने बचत, शेयर, अन्य दायित्व समेत भएमा सम्बन्धित सहकारी संघसंस्थाका सञ्चालक र पदाधिकारीसँग सम्पर्क गर्न शेयर सदस्य लगायत सम्पूर्ण सरोकारवाला सबैमा सहकारी रजिष्ट्रारको कार्यालयले सूचित समेत गरेको छ।

हालसम्म स्याङ्जामा १६, पर्वतमा ७, गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, बागलुङ र म्याग्दीमा २ / २ तथा लमजुङ र नवलपुरमा १ / १ गरी ४२ वटा सहकारी संघसंस्थाको दर्ता खारेज भएको जनाइएको छ।

हाल दर्ता खारेजी भएका सहकारी संघसंस्थाहरूः

१, श्री इन्द्रेणी कृषि सहकारी संस्था, पर्वत
२, श्री देउराली बचत तथा ऋण सहकारी संस्था, पर्वत 
३, श्री उर्जाशील दुग्ध उत्पादक सहकारी संस्था, बागलुङ
४, श्री जिल्ला तरकारी तथा फलफूल सहकारी संघ, स्याङ्जा
५, श्री ज्याग्दीखोला कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था, स्याङ्जा
६, श्री पेल्काचौर बहुउद्देश्यीय सहकारी संस्था, स्याङ्जा
७, श्री मौरीपालन सहकारी संस्था, स्याङ्जा



Leave a comment