सहकारी प्राधिकरणका अध्यक्ष पोखरेल एशियाली सहकारी नियमन अलायन्सको अध्यक्षमा चयन

सहकारी प्राधिकरणका अध्यक्ष पोखरेल एशियाली सहकारी नियमन अलायन्सको अध्यक्षमा चयन :: Sahakari Akhabar

काठमाडौं । एशियाली सहकारी नियमन अलायन्स (आक्रा) को अध्यक्षमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेल चयन भएका छन् ।

एशियाली ऋण महासंघ (अकू) को आयोजनामा बैंककमा भएको आक्राको आठौं सम्मेलनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका पोखरेललाई अध्यक्ष चयन गरेको हो । सन २००३ मा गठित आक्राको नेपाल पहिलो पटक अध्यक्ष निर्वाचित भएको हो ।

आक्राको नयाँ कार्यसमितिमा उपाध्यक्ष मंगोलियाका अल्तानतुल सोग्साईखान, सचिवमा फिलिपिन्सका अलेक्जेण्डर वि राकेपो, कोषाध्यक्षमा थाइल्याण्ड बुन्यारात आथानरोनारित चुनिएका छन् । त्यसैगरी पदेन सदस्य सचिवमा अकूका इलेनिता भिसानरोके, प्रमुख कार्यकारी अधिकृत रहेकी छन् ।

आक्राको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन हुनु नेपालको साकोस अभियानका साथै सम्पूर्ण सहकारी क्षेत्रकै लागि ठूलो उपलब्धि भएको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।

अध्यक्ष ढकालले यो फोरममार्फत हाम्रा एशिया प्रशान्त क्षेत्रीय मुलुकहरुको सहकारी नियमनका असल अभ्यासहरुबारे छलफल गर्न, सिकाइ र बुझाइलाई परिस्कृत गर्न र भविष्यमा नेपालको सहकारी तथा साकोस अभियानलाई अझ उन्नत दिगो र व्यावसायिक बनाउने आधारहरु तयार हुने विश्वास आफूले लिएको बताए ।

सहजताका साथ यो वातावरण निर्माण भएको र सर्वसम्मत् रुपमै नेपालको नेतृत्व सबै रेगुलेटर्स र अन्य सहभागीहरुले सहमति जनाएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बताए । सन् २००३ मा गठित आक्राले २००५ देखि प्रत्येक दुई वर्षमा सम्मेलन गर्दै आएको छ ।

खासगरी साकोस अभियानलाई नियामकीय दृष्टिकोणले कसरी नीतिगत तथा कानूनी अनुकूलताको वातावरण निर्माण गर्न सकिन्छ भनेर आक्राले बहस, छलफल र दिशाबोध गर्दै आएको छ ।

सम्मेलनमा नियामक तथा अकूका सदस्य राष्ट्का संघ संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु समेत गरी १६ देशका ६२ जनाको सहभागिता रहेको थियो । १८ फेब्रुअरीमा सुरु भएको उक्त सम्मेलन २२ फेब्रुअरीमा सम्पन्न हुनेछ ।



Leave a comment