नेपालको साकोस अभियानको व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि १ सय साकोस व्यवस्थापकहरुलाई सहकारी डिप्लोमा कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गराउने विषयमा छलफल भएको
काठमाडौं । भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ (इफ्को) र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बिच सहकार्यको सहमति भएको छ। एनसीयूआई, नेफ्स्कून र इफ्कोका प्रतिनिधि बिच भारतमा सहकार्यकोलागि सहमति भएको हो ।
भारतको सहकारी भ्रमणमा रहेका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सिइओ डा.शिवजी सापकोटाले एनसीयूआईका अध्यक्ष दिलीप सांघानी बिच भएको छलफलमा तीनै निकायबीच सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।
सहमतिमा एनसीयूआई तथा इफ्कोले नेफ्स्कूनको क्षमता विकासमा सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरेको जनाइएको छ । उक्त संस्थाहरुको सहकार्यमा नेफ्स्कूनको वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको क्षमता विकासका लागि आवासीय तालिम आयोजना गर्ने जनाइएको छ ।
यसैगरी, नेपालको साकोस अभियानको व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि १ सय साकोस व्यवस्थापकहरुलाई सहकारी डिप्लोमा कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गराउने विषयमा पनि छलफल भएको संघका सिईओ डा.सापकोटाले जनाए ।
नेपालका साकोस व्यवस्थापकहरुलाई सहकारीमार्फत उत्पादन, प्रवर्धन तथा बजारीकरणको तालिम प्रदान गर्नुका साथै असल सहकारीहरुको अवलोकन भ्रमण समेत गराउने गरी छलफल भएको बताए ।
अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले एनसीयूआईका प्रमुख कार्यकारी अधिकृत डा.सुधिर महाजन र सहकारी बैंक तथा क्रेडिट सोसाइटीहरुको शीर्ष संघ नाफ्कूबका प्रमुख कार्यकारी अधिकृत (सिईओ) योगेश शर्मासँग पनि छलफल गरेका छन् ।
त्यसैगरी भारतीय सहकारी अभियन्ता इफ्को अध्यक्ष सांघानीलाई नेफ्स्कूनले नेपालका साकोसहरुको भ्रमण गराउने र आपसी सहकारी सम्बन्धलाई प्रगाढ बनाउनेलगायतका सहमति भएको जनाइएको छ ।
सांघानी सम्मानित भारतीय सहकारी अभियन्तासँगै प्रभावशाली राजनीतिक व्यक्तित्व समेत हुनु भने सांघाई गुजरातका सांसद र पूर्व क्याबिनेट मन्त्री समेत हुन् । इफ्को विश्वका ३ सय ठूला सहकारीको सूचीमा लगातार टप थ्री भित्र पर्दै आएको छ ।
सन् २०२४ को मे ९ मा नयाँ दिल्लीस्थित इफ्को सदनमा सम्पन्न इफ्कोको साधारण सभाले सिंघानीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।नेफ्स्कूनका तर्फबाट अध्यक्ष तथा सिइओ सापकोटाले महाराष्ट्र फेडेरेशन अफ कोअपरेटिभ सोसाइटीको आयोजना फेब्रुअरी ८ र ९ मा हुने सहकारी सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा समेत सहभागीता जनाउनेछन ।
Leave a comment