काठमाडौं । सहकारी ऐनले सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने ब्यवस्था गरेको छ । स्वार्थ बाझिने भन्दै सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा ब्यवस्था छ । तर सहकारी नेता भने ऐनको उक्त ब्यवस्थालाई फरक ब्याख्या गर्दै कार्यान्वयन गर्न नदिन रजिष्ट्रार देखि नेतासम्मलाई कन्भिन्स गर्नमा लागेका छन् ।
राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएपछि ऐनको उक्त ब्यवस्था कार्यान्वयन गर्न नदिन सकृय रुपमा लागेका छन् । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल पारिवारिक भ्रमणमा अमेरिका गएपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी लिएका पोखरेल यतिखेर महासंघका दोहोरो पदधारी संचालक लिएर सहकारी विभागदेखि मन्त्रालयसम्म धाउन थालेका छन् ।
पोखरेल आफूभने तेहेरो पदमा बसेर सहकारीबाट लाभ लिइरहेका छन् । उनी विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् जुन संस्था उनले स्वार्थ बाझिनेगरी बर्षैदेखि आफ्नै घरमा राखेर संचालन गरेका छन् । त्यसैगरी पोखरेल राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष हुन् तर उनले सहकारी बैंकबाट निवर्तमान अध्यक्षको रुपमा संचालक सरह सेवा सुविधा लिइरहेका छन् ।
पछिल्लो समय पोखरेल सहकारी महासंघकी अध्यक्षको अनुपस्थितिमा आफूजस्तै दोहोरो तेहेरो पदमा रहेका महासंघलगायत सहकारी बैंक र नेफ्स्कूनका संचालकहरु लिएर दोहोरो पद कार्यान्वयन गर्न नदिन दैनिक शक्तिकेन्द्र धाउन थालेका छन् । सहकारी महासंघ तथा बैंक र नेफ्स्कूनमा अधिकांश संचालकहरु कानुन विपरित दोहोरो तथा तेहोरो पदमा रहेका छन् ।
पछिल्लो समय सहकारी विभागले दोहोरो पद कार्यान्वयन गर्न निर्देशन जारी गरेपनि अटेर गर्दैआएका सहकारी महासंघ, सहकारी बैंक र केन्द्रीय संघका संचालकहरुको विवरण माग गरेपछि त्यसको बचाउ गर्दै आएका पोखरेलले अध्यक्ष नभएको मौकामा सहकारी विभागलाई ध्यानाकर्षण पत्र पठाउँदै कार्यान्वयनको ठाडो चुनौती दिएका छन् ।
ऐनमा कुनै ब्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हुनसक्ने, उल्लेख छ । त्यसैगरी कुनै ब्यक्ति एकै समयमा एकभन्दा वढी सहकारी संस्थाको संचालक भए एक वर्ष भित्रमा कुनै एक संस्थाको संचालक छोड्नुपर्ने कानुनी प्रावधान छ । तर सहकारी ऐन आएको ८ वर्ष सम्ममा पनि सहकारी नेताले दोहोरो पद कार्यान्वयन गरेका छैनन् बरु उल्टै सहकारी विभागलाई कार्यान्वयनको ठाडो चुनौती दिएका छन् ।
सहकारीका संघ संस्थामा हुनेगरेका विकृति रोक्ने काम गर्नुपर्ने सहकारीको माउ निकाय महासंघ आफै नियम मिच्नेलाई संरक्षण गर्ने र विकृती ढाकछोप गर्ने निकाय बन्दैगएको छ । सहकारी विभागले दोहोरो पद कार्यान्वयनका लागि पटक पटक निर्देशन जारी गरेपनि त्यसलाई वेवास्ता गर्दैआएको सहकारी महासंघ, सहकारी बैंक र नेफ्स्कूनलाई विभागले भदौ १३ गते पत्र पठाएर संचालकहरुको विवरण माग गरेको थियो ।
विभागले संचालकहरुको विवरण माग गरेपनि सहकारीका नेताहरुको दवावमा पूर्ण विवरण नपाएपछि सहकारी विभागले पून नेफ्स्कून र सहकारी बैंकसंग असोज ६ गते परिपत्र जारी गर्दै संचालकहरुको विवरण पठाउन भनेको थियो ।
सहकारी विभागको परिपत्रले सहकारी नेतालाई असर गर्ने भन्दै सहकारी महासंघले असोज ३० गते दोहोरो पद कार्यान्वयन गर्न नसक्ने जवाफ सहित ध्यानाकर्षण पत्र पठाउँदै पोखरेलले कानुन कार्यान्वयनको चुनौती दिएका छन् ।
कार्यवाहक अध्यक्षको नाममा हस्ताक्षर गरेर पठाएको पत्रमा सहकारी विभागलाई सहकारी ऐन र कानुन सिकाउँदै परिपत्र र निर्देशन जारी गर्ने प्रकृयाहरु ऐन नियामावलीका आधारमा नै निहित हुनुपर्ने र गरिनुपर्ने उल्लेख गरेका छन् ।
उनले सहकारी विभागले जारी गरेको निर्देशन वा परिपत्रले भनेजस्तै सहकारी संघ संस्थाले गरे भने, सहकारीमा संचालकहरु पाउन मुस्किल हुने, संचालक समितिको संरचना नै बन्न नसक्ने र यस्तो ब्याख्या सहकारी ऐनको दफा ४१ को उपदफा ४ को कानुनी ब्यवस्था विपरित हुने तर्क राखेका छन् ।
उनले महासंघलाई बोधार्थका रुपमा सहकारी बैंक तथा नेफ्स्कूनलाई जारी पत्रहरुले सहकारी अभियानमा भ्रम र अन्यौलता सिर्जना गरेको, सहकारी ऐन ०७४ तथा नियामावली ०७५ ले निर्दिष्ट गरेका प्रकृयाहरुको मर्म, भावना तथा सिद्धान्तहरुमा ग्रहण लगाउने काम भएको बताएका छन् ।
पत्रमा सहकारी रजिष्ट्रार सहकारी ऐन कानुन अनुसार भए सहकारी महासंघ पनि सहकारी ऐन ०७४ को दफा २६ अनुसार स्थापना भएको उनको जवाफ छ । उनले सहकारी ऐनमा भएका कतिपय विषयहरु ब्याख्याको टुङ्गो नलागेकोले अदालतमा मुद्धा परेर विचारधिन अवस्थामा रहेको पत्रमा उल्लेख गरेका छन् ।
दोहोरो पद जोगाउन लविङमा लागेका पोखरेल गत बिहिबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । त्यसैगरी गएको आइतबार महासंघका उपाध्यक्ष डिबी बस्नेतलगायतले विभागका रजिष्ट्रार उमेश ढुंगानालाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पोखरेल कार्यवहाक अध्यक्ष भएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरण संग पनि दोहोरो पद कार्यान्वयन नगर्न लविङ चलिरहेको स्रोतले बताएको छ । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हालाई पनि ध्यानाकर्षण गराएको जनाइएको छ ।
सहकारी विभागले २०८१ साल असार १९ गते दोहोरो पद ३० दिन भित्र कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो । लामो समयसम्म पनि कानुन कार्यान्वयन नगरेपछि सहकारी विभागले असार ३२ गते एकिकृत निर्देशन जारी गर्दै दोहोरो पद कार्यान्वयन गर्न भने पनि त्यो लागु हुन सकेन ।
पुनः सहकारी विभागले सहकारीका माउ निकायलाई पत्र पठाउँदै केन्द्रीय संघ र सहकारी बैंक तथा सहकारी महासंघका संचालकको विवरण पठाउन परिपत्र गरेपछि सहकारी नेताहरु सहकारी विभाग प्राधिकरण र मन्त्रालय धाउन थालेका छन् ।
पोखरेल नेकपा एमालेको सहकारी विभागका सदस्य तथा कोशी प्रदेश कमिटि सदस्य रहेको र सहकारी महासंघ, बैंक तथा केन्द्रीय संघहरुमा दोहोरो पदमा रहेका अधिकांश नेकपा एमाले निकट रहेकाले पनि पोखरेलले दोहोरो पद कार्यान्वयन नगर्न लविङ गरिरहेको स्रोतले बताएको छ ।
यसैगरी सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन गर्न आवश्यक देखिएको भन्दै सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले पनि दोहोरो पदमा कडाई गरेर ५० बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले भदौ १७ गते निर्देशन जारी गर्दै कुनै पनि सदस्य एकै अवधिमा एक भन्दा बढी संस्थाको संचालक वा पदाधिकारी हुन नमिल्ने जनाएको छ । सहकारीमा ब्यक्तिगत स्वार्थका कारण अधिकांश सहकारी नेताहरुले पदको दुरुपयोग गरेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।
सहकारी महासंघले सहजीकरणका नाममा कानुन कार्यान्वयन नगर्न ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाउन गएकाहरु अधिकांश सहकारी नेताहरु दोहोरो पद ओगटेर बसेकाहरु छन् । ध्यानाकर्षण पत्र बुझाउन महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक काशीचन्द्र बराल, टेकप्रसाद चौलागाई विभाग पुगेका थिए ।
रजिष्ट्रार ढुंगानाले स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले कदम चालिएको बताएका थिए । सहकारी ऐनमा भएको ब्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले खुट्टा कमाउँदा सहकारीकर्मीको मनोपोली बढेको हो । सहकारी ऐनमा नै भएको ब्यवस्था पनि विभागले कार्यान्वयन गर्न सकेको छैन् । कानुन कार्यान्वयनका नाममा सहकारी विभागले निर्देशन, मापदण्ड तथा परिपत्र मात्र जारी गर्ने गरेको छ ।
नेफ्स्कून र बैंकलाई ताकेता
दोहोरो पदका सम्बन्धमा विभागले नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकलाई २०८२ भदौ १३ गते शुक्रबार पत्रमार्फत स्पष्टीकरण सोधेको थियो । विभागले दोहोरो पदको विषय कानूनमा उल्लेख भएको भन्दै उक्त व्यवस्थाको कानूनी कार्यान्वयनमा सहजीकरण गर्न महासंघ, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र मन्त्रालयलाई बोधार्थसहित पत्र पठाएको थियो । यद्यपि, त्यसमा आवश्यक सम्बोधन नभएपछि विभागले ताकेता पत्र समेत पठाएको थियो ।
दोहोरो पद ओगट्न नपाउने भन्ने कानूनी व्यवस्था भएको र त्यसको कार्यान्वयन गर्ने भन्ने विषय एक वर्षअघिको पुस मसान्त भित्रमा गर्नु भन्ने निर्देशन भएको भएपनि कार्यान्वयन भएन, रजिष्ट्रार ढुंगानाले भने । त्यो विषय सञ्चारमाध्यमहरुमा बारम्बार उठिरहेपछि हामीले त्यसको विवरण माग गर्यौ । अब पूर्ण रुपमा कार्यान्वयन गर्ने गरी सम्बन्धित संघ केन्द्रीय संघहरुसँग पनि जानकारी लिएका हौं, रजिष्ट्रार ढुंगानाले भने ।
सहकारी नेताको बिवरण माग
सहकारी विभागले महासंघ र सबै विषगत केन्द्रीय संघसँग उनीहरुको पछिल्लो अवस्थाका बारेमा पत्रमार्फत विवरणहरु माग गरेको छ । रजिष्ट्रार ढुंगानाले भने, ‘विषयगत केन्द्रीय संघ स्थापनाका लागि आवश्यक सदस्य संख्याको हालको अवस्था के कति छ ? आवद्ध सदस्य हाल कति छन् ? सञ्चालकमा प्रतिनिधित्व गर्नेहरुको प्रारम्भिक संस्थाको अवस्था र हैसियत के हो ? लगायतका बुँदाहरु समेटी पत्र पठाएका छौं ।’
‘संघ महासंघहरुसँगै तिनका सञ्चालकहरु आवद्ध भएको प्रारम्भिक संस्थाको मुख्य मुख्य विवरणहरु समेत विभागले माग गरेको छ ।’ एउटा दोहोरो पदको स्टेटस हेर्ने । अर्को भनेको, केन्द्रीय संघ गठन हुन आवश्यक रिक्वायरमेन्ट हिजो पुगेपनि आज नहुन सक्छ, केन्द्रीय संघहरु नै घटाउनुपर्ने अवस्था हो कि ? त्यो पनि जानकारी लिन खोजेका हौं ।
र, तेस्रो भनेको केन्द्रमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको अवस्था ।’ रजिष्ट्रार ढुंगानाले भने, ‘केन्द्रीय संघमा प्रतिनिधित्व गर्ने भनेको विषयगत सहकारीहरुको अनुगमन गरेर कैफियतको रिपोर्टिङ गर्नुपर्ने अधिकारप्राप्त निकायका पदाधिकारी भएकाले उहाँहरुले प्रतिनिधित्व गर्ने संस्थाको हैसियत चाहिँ कस्तो छ ? त्यो पनि हेर्न आवश्यक भएकोले माग गरिएको हो । उक्त विवरण आएपछि विभागले त्यसलाई प्राथमिकतामा राखेर उहाँहरुकै संस्थाहरुमा सघन अनुगमन गर्नेछ ।’ दोहोरो पदको विषय सिधै स्वार्थको द्धन्दसँग जोडिएको रजिष्ट्रार ढुंगानाले बताए ।
माथिबाटै सुशासित, मर्यादित र विधिसम्मत् बनाउनुपर्ने ठम्याइमा विभाग रहेको रजिष्ट्रार ढुङ्गाना बताउँदै आएका छन् । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछभन्ने उल्लेख छ ।
उक्त प्रावधान कार्यान्वयन गर्न सहकारी विभागले पटक पटक निर्देशन समेत जारी गर्दै आएको छ । तर, महासंघदेखि प्रारम्भिक संघसंस्थाले विभागको निर्देशनलाई अटेर गर्दै अधिकांश संचालकहरु दोहोरो तथा तेहेरो पदमा आसिन छन्, उनले भने ।
दोहोरो पद सम्वन्धि यस अघिका समाचारकालागि यहा क्लिक गर्नुहोला
सहकारी कानुन मिच्नेमा अभिभावक संघका सञ्चालक अगाडी, नियामकको मौन समर्थन र दलको संरक्षण
दोहोरो पदमा भाँचियो सहकारी विभागको डण्डा, महासंघमा मात्रै ढेडदर्जन दोहोरो पदमा
दोहोरो पद कार्यान्वयनको म्याद थपियो, कानुन मिच्नेको मतियार बन्दै महासंघ
हेर्नुहोस सहकारी महासंघले विभागलाई लेखेको पत्र:
Leave a comment