हाइलाइट

बचत फिर्ताका लागि सीटीसी मल ब्यवस्थापनको तयारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

बचत फिर्ताका लागि सीटीसी मल ब्यवस्थापनको तयारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको लगानी रहेको सिभिल स्टेट्स प्रालि (सीटीसी मल) बिक्री प्रकृया अगाडी बढाएको छ । समितिले उक्त भवन बिक्रीका लागि ३० दिने सूचना जारी गरी सरोकारवालाहरुलाई सम्पर्कमा आउन भनेको हो ।

समितिले सिभिल सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न र सम्पत्ति ब्यवस्थापन गर्न कात्तिक १२ गते सार्वजनिक सूचना जारी गरेको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना मार्फत सिभिल स्टेट्ससँग सम्बन्धित सम्पत्तिको व्यवस्थापन र भुक्तानी सुनिश्चितता प्रक्रियाका लागि सरोकारवालाहरुलाई निर्धारित समय सीमाभित्र आफ्नो हकहित सम्बन्धी विवरण पेश गर्न भनेको छ ।

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सम्पत्ति, दायित्व तथा शेष व्यवस्थापनका लागि सिभिल स्टेट्स प्रालिको नाममा दर्ता रहेको ब्यापारिक भवन सम्बन्धी  विवरणसमेत सार्वजनिक गरेको छ ।

समितिले ६ रोपनी क्षेत्रफलमा निर्माण भएको ११ तले भवनमा रहेका विभिन्न कार्यालय र व्यवसाय सिभिल सहकारीका सञ्चालक तथा परिवारका सदस्यले बचतकर्ताको रकम दुरूपयोग गरी विभिन्न व्यवसायमा लगानी गरेको पाइएको बताएको छ ।

समितिले सो भवनबाट प्राप्त हुने रकम बचतकर्ताको बचत फिर्ता गर्न प्रयोग हुने भएकाले सहयोग गरिदिन सम्बन्धितसँग अपील गरेको छ । उक्त भवनमा व्यवसाय गर्ने वा कर्जा लगानी गरेका सबै व्यक्तिहरूले आफ्नो कारोबार, लगानी र भुक्तानी सम्बन्धी सम्पूर्ण विवरणसहित ३० दिनभित्र समितिसँग सम्पर्क गरी आवश्यक प्रमाण पेश गर्नुपर्ने जनाएको छ ।



Leave a comment