नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन ।
यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’
उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।’
‘नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ । अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गर्यो ।
बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो’ मन्त्री डा.महतले भने, ‘कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए ।
घरजग्गामा अत्याधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’
Leave a comment