नेपाल बहुउद्देश्यीय सहकारीको लगानी १० अर्व, सदस्य १ लाख ५३ हजार बढी

नेपाल बहुउद्देश्यीय सहकारीको लगानी १० अर्व, सदस्य १ लाख ५३ हजार बढी :: Sahakari Akhabar

विराटनगर । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले  १० अर्ब बढी लगानी गरेको छ । संस्थाले आव २०७९ / ०८० को असार मसान्तसम्म १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ ।

सहकारीले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । सहकारीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सहकारीको संस्थागत पूँजी ७६ करोड ९ लाख २७ हजार ६५९ रुपैया रहेको छ भने कूल प्राथमिक पूँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रुपैया रहेको छ ।

सहकारीले सोही अवधिमा ९ अर्ब ४० करोड ७४ लाख १३ हजार २१८ रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी संस्थामा १ अर्ब ४० करोड ५ लाख १६ हजार ६ सय रुपैयाँ शेयर पूँजी पुगेको छ ।

कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र इलाममा ५८ वटा सेवा केन्द्रमार्फत् सेवा प्रवाह गर्दै आएक एनएमसीमा हाल १ लाख ५३ हजार ८०३ सेयर सदस्य आबद्ध छन् । संस्थाको ५ वटै व्यवसायमा गरी कूल १ हजार १४४ जना कर्मचारी कार्यरत छन् ।

पत्रकार सम्मेलनमा सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले मंसिर २ गतेदेखि ८ गतेसम्म सात वटा इकाइगत साधारणसभा हुने जानकारी दिए । सहकारीले मंसिर १६ गते माइन्युट प्रमाणिकरण भेला गरेर ३१ औं बार्षिक साधारण सभा सम्पन्न गर्ने जनाएको छ ।

पछिल्लो समयमा देखिएको आर्थिक संकट सहकारी क्षेत्रमा पनि परेको बताउँदै अध्यक्ष शिवाकोटीले संस्थामा एक जना सदस्यले बचत गरेको रकम अर्को सदस्यले ऋणको रुपमा प्रयोग गरेकाले भ्रम र अफवाहको पछि नलागी सदस्यले समयमै कर्जा बुझाउनुपर्नेमा जोड दिए ।

सहकारीले बचत तथा ऋणको कारोबार देखि सहकारी पसल, डेरी उद्योग, कृषि र चिया उद्योग गरी पाँच वटा सहकारी व्यवसाय सञ्चालन गरिरहेको सहकारीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । आर्थिक मन्दिका कारण व्यवसायलाई पनि असर गरेको बताउँदै उप्रेतीले व्यवसाय केही घाटामा गएको स्पष्ट पारे ।

उनले अहिले क्रमशः सुधार देखिँदै गएको र सदस्यले उत्पादन गरेको स्थानीय बस्तुको बजारीकरणका लागि सहकारी पसल अनिवार्य भएको उल्लेख गरे । मुलुकको अर्थतन्त्र संकटमा पर्दा सहकारीले जोगाउन सक्ने भन्दै उनले सहकारीको सिद्धान्त भन्दा बाहिर गएका सहकारी समस्यामा गएको बताए । उनले सहकारीको मूल्य र मान्यता बमोजिम सहकारी संस्था चल्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार २०५० सालमा स्थापना भएर काँकरभिट्टाबाट २ लाख ५३ हजार लगानीबाट सुरु भएको सहकारीको  हाल कुल सम्पति १३ अर्व २ करोड ८ लाख १६ हजार ४२१ रुपैया  पुगेको छ । सहकारीले २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैया नाफा कमाएको छ । सहकारीमा साना ठूला गरी २१ वटा सहकारी एकिकरण भएको पनिउप्रेतीले जानकारी दिए ।



Leave a comment