काठमाडौं । सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । अगामी ४ बर्षे कार्यकालका लागि अध्यक्षमा राजेन्द्र गिरी, उपाध्यक्षमा नारायणप्रसाद श्रेष्ठ, सचिवमा अप्सरा गिरी, कोषाध्यक्षमा हरीराम गिरी र सदस्यहरुमा माधब राज गिरी, वाटुली चौलागाई र रुपेश वदवेर चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा धु्रवराज गिरी र सदस्यहरुमा चम्फा गिरी तथा राजेन्द्र चौलागाई चयन भएका हुन् ।
संस्थाका अध्यक्ष जयराम गिरीको अध्यक्षता एंव बागमती प्रदेश सांसद रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीलाई नियमसंगत रुपमा सञ्चालन गरी सदस्यको विश्वास कायम राख्नसक्नु अहिलेको चुनौती भएको बताए । संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र सहकारीको माध्यमबाट समाजवादमा पुग्न सकिने उनको भनाई छ।
सहकारी मार्फत समाजवाद अर्थतन्त्र विकास गरी समाजलाई विकासको गतिमा लैजान सबै राजनितिक पाटीहरुको सामुहिक प्रतिवद्धता रहेको समेत उनले बताए । सहकारीकै माध्यमबाट विश्वका कतिपय राष्ट्रहरुले समाजवाद प्राप्त गरेको भन्दै उनले नेपालले पनि त्यहि नीतिलाई अंगालेको बताए ।
सहकारीलाई छोडेर मजवुद अर्थतन्त्र निमार्ण गर्न नसकिने समेत उनले बताए । समाजमा रहेका धेरै सहकारी संस्थाले राम्रो काम गर्दै आएको भए पनि सिमित सहकारीले गरेको वदमासीले सहकारीप्रति आम मानिसको विश्वास घट्न गएको उनले बताए ।
कतिपय सहकारीका सञ्चालकले नाफाका लागि अनुत्पादकमुलक क्षेत्रमा र जथाभावी ऋण लगानी गर्दा अहिले समस्या सृजना भएको उनको भनाई छ । राजनितिक परिवतनसँगै जनताको आर्थिक परिवतन हुन नसक्दा नेता र राजनितिक दलप्रति जनताको अविश्वास बढेर गएकाले अब सबै मिलेर आर्थिक क्रान्ति गर्ने बेला आएको ढकालले बताए ।
मुलुकमा रोजगारी सृजना हुन नसक्दा युवाहरु विदेश पलायनको क्रम बढेकाले स्वदेशमा नै रोजगारी सृजना र उत्पादन वृद्धि गर्न सरकारले विशेष पहल गर्नु पर्नेमा उनले जोड दिए । कृषिमा आधुनिकीकरण गरि कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि ढिला गर्न नहुने भन्दै यसका लागि सरकारले आवश्यक पुर्वधार बनाउनु पर्ने उनको भनाई छ ।
अहिलको आर्थिक मन्दीले निराशा, अराजकता र पलायानता बढेकाले यसको समाधान गर्न सबै पक्ष मिलेर काम गर्नु पर्नेमा उनले जोड दिए । सदस्यको मन जितेर वित्तीय कारोबार गर्न सके सहकारीको भविष्य सुन्दर रहेको उनको भनाई छ ।
सहकारीको भविष्यसँग देशको भविष्य जोडिकाले सहकारी क्षेत्रलाई राज्यले उपेक्षा गर्न नसक्ने उनले बताए । आफु बागमती प्रदेशको सांसद रहेकाले प्रदेशमा सहकारीमैत्री ऐन नियम बनाउन आवाज उठाउँदै आएको ढकालको भनाई छ । सहकारीमैत्री कानून निमार्ण गरी सहकारीलाई राम्रोसँग सञ्चालन गर्न सके सहकारी मार्फत गरिवी न्युनिकरण,रोजगारी सृजना र उत्पादन वृद्धि गर्न सकिने सो अवसरमा उनले बताए ।
सहकारीका नियमाक निकायले सहकारीको प्रभावकारी नियमन अनुगमन गर्नु भन्दा पनि बाटोबाट खाम बुझेर हिड्ने गरेको गुनासो आफुले पनि सुनेको उनले जनाए । कृषि ,पर्यटन र मझौला उद्योगमा सहकारीले योगदान गर्दै आएको र सरकारले अझै सहज वातावरण निमार्ण गरी ती क्षेत्रमा लगानी बढाउन अभिप्रेरित गर्नु पर्नेमा उनले जोड दिए ।
सरकारको अनुदान बिचौलिया र राम्रो प्रपोजल लेख्न सक्नेले मात्रा पाउने गरेको भन्दै उनले वास्तविक समुहले अनुदान नपाएसम्म उत्पादन वृद्धि नहुने प्रष्ट पारे । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार सुरेश गुँरागाईले सञ्चालक समितिले नाफाका लागि घर जग्गामा लगानी गर्दा र ऋणी सदस्यले समयमा ऋण नर्तिदा कतिपय सहकारी समस्यामा परेको बताए ।
सहकारीका लागि कानून बनेपनि कार्यान्वयनमा नआउँदा ऋण असुली लगायत कतिपय कुरामा समस्या भएको उनले जनाए । सदस्यहरुले गरेको बचत र लगानीको अवस्था के छ भनेर छलफल गर्ने र आगामी बर्षका लागि नीति तथा योजना बनाउने भएकाले साधारण सभामा सक्रिय उपस्थिति जनाउन सबैलाइ उनले आग्रह गरे ।
सभामा अध्यक्ष जयराम गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक मन्दी लगायतका चुनौैतीका बीचमा पनि सदस्य हितका लागि संस्थाले काम गर्दै आएको बताए । संस्थाले वित्तीय संकटका बेलामा पनि सदस्यको माग अनुसार व्यवसायिक ,हायरपर्चेच र आवास जस्ता क्षेत्रमा सामुहिक जमानी र धितो मुल्याङ्कनमा ऋण लगानी गर्दै आएको उनले बताए ।
संस्थाका कोषाध्यक्ष हरीराम गिरीले आर्थिक बर्ष २०७९ / ८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा गरेको वृद्धिले संस्थाको कारोवारमा प्रभाव परेको बताए ।
वित्तीय संकटका बेला कतिपय सदस्यले लगेको ऋणको साँवा ब्याज भुक्तनानीमा आलटाल गर्ने त कतिपय सदस्यले विभिन्न वहना बनाएर बचत तथा शेयर फिर्ता माग्ने गरेकाले संस्थालाई केही समस्या पारेको उनले जनाए । संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी २ करोड ५ लाख , जगेडा तथा अन्य कोषमा ५३ लाख ७ हजार, बचत संकलन ४ करोड २४ लाख र ऋण लगानी ६ करोड ८ लाख रहेको छ ।
सभामा लेखा समिति संयोजक ध्रुवराज गिरीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी र असुलीमा ऋण समितिको भुमिका बढाउन र सामुहिक जमानी तथा धितोमा मात्र ऋण लगानी गर्न सुझाव दिए । सभामा सञ्चालक सदस्य अप्सरा गिरीले स्वागत मन्तव्य राखेकी थिईन् । सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र बाल बचतकर्तालाई सम्मान गरिएको थियो ।
Leave a comment