काठमाडौं । जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेको स्थानीय सामान झापाको सहकारी मार्फत बजारीकरण हुने भएको छ । जुम्लाको चन्दननाथ सहकारी र सहारा नेपाल बचत तथा ऋण सहकारी बिच बजारीकरणमा सहकार्य सम्वन्धि आज सहमती भएको हो ।
जुम्लाको अग्र्यानिक उत्पादन स्याउ, कागुनो, चिनो, मार्सि चामल, जिमु, ओखर, भटमास, दाल, सिमी तथा खरायोको उनको सामानलगायतका सामाग्री चन्दननाथले सहारा नेपाल साकोसलाई उपलब्ध गराउने र सहाराले सदस्य तथा गैरसदस्यलाई बिक्री गर्ने सहमती भएको हो ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशक श्रीराम पाण्डेसहितको संचालक टोलीले सहारा नेपाल साकोसको भ्रमण गरेका थिए । संस्थाले पहिलो पटक ६ हजार किलो फुजी स्याउ सहारा नेपाललाई दिएको छ ।
संस्थाले प्रति किलो २ सय ५० रुपैंयामा स्याउ बिक्री गरेको संस्थाका प्रवन्ध संचालक महेन्द्र गिरीले जानकारी दिए । विगतका वर्षमा सिमी, मार्सी चामल, ओखरलगायतका बस्तुहरू बजारीकरण गर्दै आएको सहकारीले यस वर्ष देखि स्याउको बजारीकरण सुरु गरेको जनाएको छ ।
नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउको बजार मूल्य गुणस्तरको आधारमा राम्रो मानिन्छ । जुम्लामा २१ हजार घरधुरीमा हरेक घर परिवारले आफ्नो बारीमा स्याउ खेती अनिवार्य रुपमा गर्ने गरेका छन ।
यो वर्ष जुम्लामा २९ मेट्रिकटन ३५ करोड बराबरको स्याउ उत्पादन हुने अनुमान रहेको छ । गत वर्ष ५० मेट्रिकटन, हाराहारी ५१ करोडको स्याउ जुम्लाबाट निर्यात भएको प्रवन्धक पाण्डेले जानकारी दिए । सहकारीका २४ हजार ५ सय सदस्य, ३८ जिल्ला कार्यक्षेत्र कर्णाली प्रदेशका ७ जिल्लामा १८ वटा सेवा केन्द्र रहेको प्रवन्धक पाण्डेले जानकारी दिए ।
Leave a comment