संचालनमा नआउदै भत्कियो सहकारी कोल्डस्टोर 

संचालनमा नआउदै भत्कियो सहकारी कोल्डस्टोर  :: Sahakari Akhabar

दाङ । बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी संस्थाले दाङमा निर्माण गरेको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर भारी वर्षाका कारण आएको पहिरोका कारण प्रयोगमा नआउँदै भत्किएको बताइएको छ ।

कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्नका लागि बंगलाचुली गाउँपालिका–५ मुर्कुटीमा कोल्ड स्टोर निर्माण गरिएको थियो । एक करोड २७ लाख लागतमा निर्माण भएको कोल्डस्टोरका क्षमता १०० मेट्रिक टन क्षमताको छ ।

२०७९ साल असोजमा भत्किएको कोल्डस्टोर पुनर्निर्माणमा कसैले चासो दिएको छैन । सहकारीका कोषाध्यक्ष गोपाल वलीले मर्मतका लागि बजेट धेरै लाग्ने हुँदा गाउँपालिकासँग बजेट माग गरेको बताए । बंगलाचुली गाउँपालिका पहाडी क्षेत्र भएकाले तरकारीसहित सुन्तला, अदुवा, कागतीहरु उत्पादन हुँदै आएको छ । तर भूगोलको विकटता र बजार टाढा भएकाले त्यहाँका किसानलाई तरकारी तथा फलफूलहरु बजारसम्म पुर्याउन समस्या हुने गरेको छ ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन ‘सुवास’ले सञ्चालन नआउँदै भत्किएको कोल्डस्टोरलाई गाउँपालिकाले व्यवस्थापन गर्ने बताए । उनले कोल्ड स्टोर मर्मतका गाउँपालिकाले बजेट व्यवस्थापन गरेर सञ्चालनका लागि सहयोग गर्ने बताए । सोही क्षेत्रमा पर्ने रिभान गाउँलाई तरकारी तथा कागती खेतीका लागि राम्रो सम्भावना भएको भन्दै ०७६ सालमा स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको थियो ।

स्मार्ट कृषि गाउँ अन्तर्गत किसानलाई तरकारी खेतीप्रति आकर्षित गराउन कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रीकरणका लागि बजेट खर्चिएको थियो । तर अहिले उत्पादन भएको तरकारीको बजारीकरण हुन नसकेपछि तरकारी खेती गर्न छोडेको बताइएको छ।



Leave a comment