पैसा फिर्ता नदिएपछि सहकारीका सदस्य वडा प्रहरी कार्यालय गुहार्दै

पैसा फिर्ता नदिएपछि सहकारीका सदस्य वडा प्रहरी कार्यालय गुहार्दै :: Sahakari Akhabar

विराटनगर । आफुले बचत गरेको पैसा फिर्ता नदिएपछि सहकारीका सदस्यहरुले वडा प्रहरी कार्यालय गुहारेका छन् । समयअवधी सकिदा पनि सहकारीले बचत गरेको रकम फिर्ता दिन नसकेपछि उनीहरुले वडा प्रहरी कार्यालय गुहारेका हुन ।

विराटनगरको जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले लामो समयदेखि आफ्नो बचत गरेको रकम झिक्न नपाएपछि वडा प्रहरी कार्यालयमा पुगेका थिए। सहकारीका अध्यक्ष फडिन्द्र मगर लगायत अन्य संचालक सदस्यहरुलाई पनि वडा प्रहरी कार्यलयमा पुर्याएर बचतकर्ताले दवाव दिएका हुन ।

झण्डै ३ सय भन्दा बढी बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा आफुलाई समस्यामा परेको गुनासो गर्दै आएका छन् । त्यस अघि बचतकर्ताहरुले संचालकलाई कार्यलयमा नभेटेपछि कार्यररत सबै कर्मचारीलाई वडा प्रहरी कार्यलयमा लगेपछि आईपुगेका सहकारीका संचालक समिति अध्यक्ष फडिन्द्र मगर वडा प्रहरी कार्यलय विराटनगरमा आईपुग्ने वित्तिकै बचतकर्ताले घेरेका थिए ।

वडा प्रहरी कार्यलयमा पुग्न साथ बचतकर्ताहरुले संचालकलाई बचत गरेको रकम चाँडो उपलब्ध गराईदिन माग गरेका थिए । वडा प्रहरी कार्यलयमा भेला भएका सहकारीका संचालक र बचतकर्ताहरुलाई पुन सहकारी कार्यलयमा नै पुगेर आपसी छलफल तथा मिलेमतो गर्न वडा प्रहरीले आग्रह गरेको थियो ।

बचतकर्ता मुकेश श्रीवास्तवले सहकारीले पैसा हिनामिना गरेका कारण फिर्ता गर्न नसकेको आरोप लगाएका छन् । ‘हामीले पटक पटक समय दिईसक्यौ तर पनि कुनै वास्तै गरिरहेको छैन ।’ हामीले भिख मागेको हैन ,ऋण पनि मागेको हैन, हामीले त बचत गरेको रकम मात्रै मागेको हो ।’

संस्थाका अध्यक्ष फडिन्द्र मगरले खाली आश्वासन मात्र दिने गरेको अर्का बचतकर्ता राजेन्द्र यादवले बताए । मेरो धेरै रकम पनि छैन ८ हजार मात्र छ त्यो पनि दिईरहेको छैन । इटहरीमा मुख्य कार्यालय राखेर विराटनगर, विराटचौक र दमकमा सदस्य सेवा केन्द्र रहेको अम्बे बचतमा ५ हजार ३०० बचतकर्ता रहेका छन् ।

इटहरीमा ठूलो रकम बचतगर्नेहरु धेरै छन् । अध्यक्ष मगरले भने अहिले हामी मात्रै हैन देशभरका नै सहकारीहरुको अवस्था नाजुक छ । लगानी गरेको रकम भनेको समयमा नउठेका कारण बचतकर्ताहरुको रकम फिर्ता गर्न सकिरहेका छैनौँ ।

अको केही दिनमा हामी सबै बचतकर्ताहरुको रकम फिर्ता गर्ने तयारीमा छौँ । ६३ करोड रुपिँयाको कारोबार गर्दै आएको सहकारीले २० करोड रकम बढी फिर्ता गरिसकेको छ । अब ३५ करोड रकम व्यवस्थापन गर्नुपर्नेछ ।



Leave a comment