बजेटमा सहकारीकर्मीको प्रतिक्रिया : सरकारले सहकारीको महत्व बुझेन 

बजेटमा सहकारीकर्मीको प्रतिक्रिया : सरकारले सहकारीको महत्व बुझेन  :: Sahakari Akhabar

सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधानमा सरकार गम्भिर नभएको भन्दै संचालकहरुको आन्दोलन चलिरहेकै बेला सरकारले भने बचत तथा ऋण सहकारीमा लाग्ने आयकर बृद्धि गर्दै आर्थिक वर्ष २०८० / ०८१ को बजेट सार्वजनिक गरेको छ । यसअघिका बजेटको तुलनामा सहकारी क्षेत्रको प्राथमिकता कम भएको र सरकारले महत्व नबुझेको सहकारीकर्मीहरुको टिप्पणी छ । प्रस्तुत छ बजेटका बारेमा सहकारी अखबारले लिएको सहकारीकर्मीको प्रतिक्रिया : 

सहकारी ओझेलमा

खेमबहादुर पाठक ( अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ )

समग्रमा यस पटकको बजेटमा सहकारी क्षेत्र ओझेलमा परेको छ । सहकारी क्षेत्रलाई उत्साहित गर्ने गरी कुनै कार्यक्रम आउन सकेन । बरु उल्टै बचत तथा ऋण सहकारी संस्थाको आयकर बृद्धि गरिएको छ । विगतमा सहकारी क्षेत्रलाई विषेश संरक्षण गर्दै करमा दिएको सहुलियत हटाउदा हामीले गुमाएको महशुस गरेका छौं । अर्को पक्ष सहकारीमा देखिएको कमी कमजोरीका कारण पनि सरकार नकारात्मक भएको हो कि भन्ने लागेको छ । तर, साना किसान र लघुवित्तका लागि भने बजेटले प्राथमिकता दिएको छ ।

सामाजिक बैंकिङ्गको अवधारणा अनुरूप काम गर्ने गरी लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन परिचालन गरिने र लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक वित्तीय संस्थाको रूपमा अगाडी बढाइनेछ । साथै साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत मुलुकका सबै स्थानीय तहमा क्रमशः साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । हामी त्यसका लागि उत्साहित छौं ।

आयकर बृद्धि सच्चिनेमा आशावादी छौं

परितोष पौड्याल ( अध्यक्ष, नेफ्स्कून )

बजेटमा सहकारी क्षेत्रको वचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उल्लेख गरिएको छ । बचत तथा ऋण सहकारीले सदस्यबाट संकलन गर्ने बचत सदस्यहरुलाई नै ऋण लगानी गर्ने हो । वित्तीय संस्था आफैले कुनै व्यवसाय गर्नु हुदैन भन्ने विश्वव्यापी मान्यता छ । यो कुरामा सरकारको बुझाइ कमजोर देखिएकाले हामीले थप स्पष्ट पार्नुपर्ने आवश्यक्ता देखिएको छ।

अर्कोतर्फ बजेटमा सहकारीलाई पनि निजी क्षेत्र सरह व्यवहार गर्दै आयकर बृद्धि गरिएको छ । विगतमा पनि कर बृद्धि गरेकामा हामीले स्पष्ट पारेपछि सरकारले पछि फिर्ता लिएको थियो । यसपटक पनि यसलाई सच्याउनेछ भन्नेमा हामी आशावादी छौं । यसका लागि हामी खबरदारी पनि गर्छौं ।



Leave a comment