एक वर्षमा ५ सय मात्र सहकारी थपिए  !

एक वर्षमा ५ सय मात्र सहकारी थपिए  ! :: Sahakari Akhabar

काठमाडौं । एक वर्षमा देशभर करिब ५ सय वटा मात्र नयाँ सहकारी संस्थाहरु  थपिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आईतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै २०७९ फागुनसम्ममा सहकारीको संख्या ३१ हजार ३७३ वटा पुगेको जानकारी दिएका छन् । गत वर्षको आर्थिक सर्वेक्षणमा २०७८ फागुनसम्म सहकारीको संख्या ३० हजार ८७९ वटा थियो ।

सहकारी दर्ता तथा नियमनको अधिकार स्थानिय तहसम्म पुगेपछि सरकारसँग सहकारीको एकीकृत तथ्यांक छैन । संघिय सरकारले तथ्यांक संकलन गर्न सुरु गरेको अनलाईन प्रणाली कोपोमिस पनि अलपत्र छ । २०७७ यता संघिय सहकारी विभागले सहकारीको एकिकृत तथ्यांक समेत सार्वजनिक गरेको छैन । तर, आर्थिक सर्वेक्षणमा भने हचुवाकै आधारमा अपत्यारिलो तथ्यांक समावेश हुँदै आएको छ ।

सर्वेक्षण अनुसार एक वर्षमा सहकारीका सदस्यहरुको संख्या करिब ४४ हजारले बृद्धि भएको छ । २०७९ फागुनसम्ममा सहकारीका सदस्यको संख्या ७३ लाख ८१ हजार २१८ जना पुगेको छ । २०७८ फागुनसम्ममा ७३ लाख ३७ हजार २५२ जना सहकारीमा सदस्य थिए ।

यस्तै ९४ अर्ब १२ करोड शेयर पुँजी एक वर्षमा बढेर ९४ अर्व १५ करोड,  बचत ४ खर्ब ७७ अर्ब ९९ करोडबाट ४ खर्ब ७८ अर्ब ३ करोड  पुगेको छ । तर, ऋण लगानी ४ खर्ब २६ अर्ब ३१ करोडबाट घटेर ४ खर्ब २४ अर्ब ३५ करोडमा झरेको छ ।

सहकारी क्षेत्रले दिएको प्रत्यक्ष रोजगारी ९३ हजार ३ सयबाट बढेर ९३ हजार ७७१ जना पुगेको सर्वेक्षणमा उल्लेख छ । यसैगरी कोपोमिसमा आवद्ध हुने सहकारीको संख्या १४ हजार ८२ वटा पुगेको छ । गत असारसम्ममा १० हजार ८४१ सहकारी मात्र यसमा आवद्ध थिए ।



Leave a comment