विराटनगर । विराटनगरमा रहेको धरणीधर बहुमुखी सहकारी संस्था लिमिटेडमा समस्या आएको छ । बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि बचतकर्ताले सामान नै उठाएर लगेका छन् । फिक्स डिपोजिटमा राखेको पैसा समय सकिएपनि सहकारीले नदिएको आरोप बचतकर्ताको छ । सहकारी धेरै दिनदेखि आलटाल गरेर पैसा नदिएको कारण सामान नै उठाएर हिड्न बाध्य भएको बचतकर्ताहरुले जनाएका छन् ।
शेयर सदस्य तथा बचतकर्ताहरुले बुधबार कार्यालयमा आएर अध्यक्षलाई घेरेपछि सहकारीको अफिस तनावग्रस्त बनेको थियो । तनावलाई सामान्य स्थितिमा ल्याउन प्रहरी बोलाईएको थियो । वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार झण्डै ३ हजार ५ सय बचतकर्ता रहेको सहकारीले समयमै रकम फिर्ता नदिएपछि सेवाग्राही आक्रोशित भएका थिए ।
उनीहरु दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाएर आपसी समझदारीमा समस्या हल गर्ने शर्तमा सहमति गराइएको छ । स्थिति तनावग्रस्त भएपछि अध्यक्ष पनि ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ भन्दै आक्रोशित बनेका थिए ।
विराटनगर–७ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा केही महिनायता वचत फिर्ता माग्ने वचतकर्ताको भीड थियो । आज दिन्छु, भोली दिन्छु भन्दै थुमथुमाएका अध्यक्ष घिमिरेलाई बुधबार भने निक्कै सकस पर्यो । ‘वचत माग्न आएका तीन जनाले सामान उठाएर लगेको सुुनेको छु,’ अध्यक्ष घिमिरेले भने ।
सहकारीमा ३ हजार ५ सयबढी बचतकर्ताका २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीमा ३ हजार ५ सय वचतकर्ताको २ करोड ५० लाख वचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरु हिसावको एकिन गर्न सकिएन ।’ वचतकर्ताले घेरिएपछि अध्यक्ष घिमिरे र सहकारीका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नुअघि संचारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिंडेको कारण समस्या भएको बताए । ‘हिसाव फरफारक गर्नका लागि रजिष्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाव हेर्ने काम भइरहेको छ ।
पहिले हिसाव छानविन नगरिकन राष्ट्रिय सहकारी बैंकले पैसा रिलिज नदिएको कारणले पनि वचत फिर्ता दिन समस्या भयो । रिसाएर, जंगिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले वचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौं । पाउनु पर्ने भुक्तानी पनि बैंकबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’
उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ,’ उनी भन्छन्, ‘भोलीको कुरा के हुन्छ हेरौं ।’
सहकारीका वचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरकफरक चाहिन्छ ।
तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो,’ उनले भने, ‘हामीले वचत संकलनमा गएका वचतकर्तालाई तुरुन्ता–तुरुन्तै दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो । व्यवस्थापक लोचन राईलाई देखाएर संचालक समिति पन्छिन पाउँदैन । वचतकर्ताको पैसा जरी पनि संचालक समितिले अध्यक्षले दिनुपर्छ ।’
सहकारीमा वचत लिन आएका केही व्यक्तिले भने कप्युटर, प्रिन्टर र बस्ने टुलहरु लिएर हिंडेका छन् । ‘सर्वसाधरणले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुल्सहरु लिएर हिंडेका छन्,’ वचतकर्ता अनिल श्रेष्ठले भने। उक्त सहकारीको संचालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरु राजेन्द्र थापा, शुभद्रा कुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् ।
गत जेठ ५ गते सोमबार बसेको सहकारीको संचालक समितिको बैठकले वचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरु बेलबारी र नेताचोकमा समेत रहेको छ।
Leave a comment