काठमाडौं । आर्थिक गतिविधि घटिरहेको बेला चालु आर्थिक वर्षको चैतसम्ममा रेमिट्यान्स भने २४.२ प्रतिशतले वृद्धि भएको छ । चैतसम्ममा विदेशमा रहेका कामदारले ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको यहि अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।
यसैगरी चालु आवको चैतसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बृद्धि भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारको संख्या बृद्धिसँगै रेमिट्यान्स पनि सकारात्मक भएको हो ।
रेमिट्यान्स बढ्दा देशको शोधानान्तर बचतसँगै विदेशी मुद्राको संचिती पनि बढेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दवाव घटेपनि आन्तरिक गतिविधिमा भने मन्दी कायमै छ ।
Leave a comment