काठमाडौं । सदस्यको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारीको स्थापनाकालदेखिको लेखापरिक्षण हुने भएको छ । संस्थाले बैशाख १८ गते बोलाएको विषेश साधारणसभामा संस्थाको स्थापनाकालदेखिको लेखापरिक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्ने प्रस्ताव पेश गर्न लागिएको हो ।
सहकारीले बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । विगत एक वर्षदेखि समस्यामा रहेको सहकारीको समस्या समाधान गर्न धरान उपमहानगरपालिले पहल गरेपछि सफल भएको छैन । यस्तै पिडितहरुको संघर्ष समिति बनाएर संस्थाको समस्या समाधानका लागि पहल भइरहेको छ ।
सहकारीको पछिल्लो प्रतिवेदन अनुसार शेयर पुँजी १० करोड २९ लाख १६ हजार, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार रहेको छ । संस्थाको बचत संकलन ७२ करोड १९ लाख ८४ हजार र ऋण लगानी ७९ करोड ३२ लाख रहेको छ ।
बराहले जग्गा दृष्टिबन्धक, वचत खाता जमानी, बराह ज्वेलरी इन्भेष्टमेन्ट प्रालि व्यवसाय र कारखानामा लगानी, बराह डिपार्टमेन्टमा लगानी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचन धरानमा लगानी, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रालिलगायतमा लगानी गरेको छ । संस्था समस्याग्रस्त भएपछि संचालकहरुको सम्पति भने रोक्का राखिएको छ ।

Leave a comment