मेची सहकारीले बनाएको ५७ वटा घर सदस्यलाई हस्तान्तरण

मेची सहकारीले बनाएको ५७ वटा घर सदस्यलाई हस्तान्तरण :: Sahakari Akhabar

झापा । मेची बहुउद्देश्यीय सहकारीले संस्थाले सदस्यकालागि निर्माण गरेको ५७ वटा घर हस्तान्तरण गरेको छ । गत शुक्रबार संस्थाले एक कार्यक्रम गरि सदस्यलाई घरको चावी बुझाएको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरू निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एक विगाहा १८ कट्ठा जग्गामा कुल २२ करोड ८३ लाख रुपैयाँमा उक्त घरहरू निर्माण सम्पन्न गरिएको बगालेले बताए । उनले शेयर सदस्यका लागि निर्माण गरिएको एउटा घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म परेको जनाए ।

हाल सो आवास क्षेत्रमा २६ शेयर सदस्यका परिवारले बसोबास गरिरहेको र सबै घर बिक्री भइसकेको पनि जनाइएको छ । मेची सहकारीले निर्माण गरेका २८ वटा घर खरिद कर्ताले पुरा रकम बुझाइसके र केहीले किस्तामा खरिद गरेको जनाइएको छ।

किस्तामा घर खरिद गर्नेलाई १२.५ प्रतिशत व्याजमा २० वर्षे कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए। जमिनको क्षेत्रफलका आधारमा मूल्य फरक रहेको उनले बताए ।

हस्तान्तरण कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओलीले वास्तविक सहकारिताको अभ्यास गरेर खोलिएका संस्थाको पहिचान गरेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारणलाई सुझाव दिए ।

सहकारीहरुले कृषि क्षेत्रमुखी कार्यक्रमलाई थप प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो । आर्थिक रुपमा सामान्य आम्दानी भएका सदस्यहरुले आफ्नै घरमा बस्ने सपना पूरा गर्न मेची सहकारीले महत्पूर्ण योगदान गरेको ओलीले बताए ।



Leave a comment