काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग भेटघाट कार्यक्रम गरेको छ । संस्थाले विस्तारित बैठक आयोजना गरी सदस्यसँग पाँच तारा भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले सदस्यसँग विस्तृत छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाए ।
सदस्यहरुबाट राय सुझाव लिने र सदस्यको सुझावका आधारमा संस्थाका गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम गरिएकोे बताए । कार्यक्रममा सहभागी सदस्यहरुले संस्थाले दिएको सेवाप्रति खुलेर प्रशंसा गरेका थिए । पछिल्लो समयमा सहकारीप्रति कतिपय नकारात्मक प्रचारहरु भईरहेको भन्दै उनीहरुले सावधानीपूर्वक संस्थाको वित्तीय कारोबारलाई अगाडि बढाउन सुझाव दिए ।
सहकारी ऐनमा कर्जा असुली केन्द्र र ऋण असुली न्यायाधिकरणको व्यवस्था गर्ने भनिए पनि अहिलेसम्म आउन नसकेको अध्यक्ष पाठकले बताए । बैंक तथा वित्तीय संस्थामा कर्जा सूचना केन्द्र भएपनि सहकारीमा त्यो व्यवस्था नहुँदा कुन सदस्यले कहाँबाट ऋण लिएको छ भन्ने जानकारी लिन समस्या भएको उनको भनाइ थियो ।
ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेको भए सहकारीमा यो हदसम्मको समस्या नआउने उनको भनाइ थियो । ७० लाख सदस्य सहकारीमा आबद्ध भएको भन्दै उनले सदस्यलार्ई सडकमा उतारेर भए पनि कर्जा सूचना केन्द्र ल्याउन अभियानको नेतृत्वतह लाग्नुपर्नेमा जोड दिए ।
बैंकको जिम्मा राष्ट्र बैंकले लिए जस्तै सहकारीको समस्यामा पनि राज्य जिम्मेवार हुनु पर्ने उल्लेख गरे । गाडी चढने भन्दा चप्पल लगाउने सदस्य बढी जिम्मेवार भएको भन्दै उनले नैतिकताको पाठ पढाउने बेला आएको सुनाए ।
अहिले संस्थाले सदस्य चिन्ने बेला भएको भन्दै अध्यक्ष पाठकले सबैलाई नैतिकवान भएर संस्थामा कारोबार गर्न आग्रह गरे । सम्पूर्ण शेयर सदस्यको बचतको सुरक्षामा संस्थाका सञ्चालक र व्यवस्थापन जिम्मेवार बन्नुपर्नेमा सदस्यहरुको आग्रह छ ।
संस्थाकी व्यवस्थापक राधा कडरियाले सदस्यहरुको बचतको सुरक्षालाई संस्थाले ध्यान दिएको बताइन् । वित्तीय संकटका बेलामा पनि संस्थाले सदस्यहरुको आवश्यकता अनुसार बचत राख्न र झिक्न सक्ने प्रबन्ध मिलाएको उनले जानकारी दिइन् ।
सहकारी सदस्यको लागि भएको भन्दै उनले सदस्यको बचतको सुरक्षाको प्रत्याभूति संस्थाले गर्ने भन्दै उनले ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गरिन् ।
सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर वित्तीय कारोवार गर्दै आएको पाँचताराले सदस्यहरुको मन जित्दै समुदायमा आधारित संस्थाका रुपमा पहिचान बनाउन सफल भएको ब्यवस्थापक कडरियाले बताइन् ।
Leave a comment