काठमाडौं । कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धका देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गर्न थालेको छ । रेमिट्यान्समा आएको वृद्धिसँगै अर्थतन्त्रका सूचकहरुमा पनि सुधार देखिएको छ ।
चालु आवको माघसम्ममा रेमिट्यान्स आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। यसैगरी अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
बैदेशिक रोजगारीमा जानेको संख्या बृद्धि भएपछि रेमिट्यान्समा सुधार देखिएको छ । चालु आवको माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १० दशमलव १ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
Leave a comment