काठमाडौं । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा डेढ दर्जन संस्था एकीकरण गरेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक केबी उप्रेतीको नेतृत्वमा अर्को ‘बिग मर्जर’ हुने भएको छ । ६ महिना अघिमात्र एकीकरणका लागि सम्झौता गरेका ५ वटा संस्थाहरुमा हाम्रो सगरमाथा र तपाई हाम्रो बहुउद्देश्यीय गरी २ ओटा थपिएर कुल ७ वटा सहकारीबीच मर्जर हुन लागेको हो ।
यो एकीकरण कार्यदलको संयोजकमा पनि उप्रेती नै रहेका छन् । उनले नै सबै संस्थाहरुलाई एकीकरणका लागि सहमत गराएका थिए । यो एकीकरणपछि १० अर्ब भन्दा बढी कारोबार भएको र देशभर कार्यक्षेत्र रहेको संस्था बन्नेछ ।
यसअघि गत भदौ २९ गते आइडियल यमुना बहुद्देश्यीय, नेशनल नमोवुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुद्देश्यीय, सत्कार बचत तथा ऋण र घेदुङ बहुउद्देश्यीयबीच मर्जरका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अनुसारको एकीकरण नै अन्यौलमा रहेका बेला एकीकरणमा हाम्रो सगरमाथा र तपाई हाम्रो बहुउद्देश्यीय दुई वटा नयाँ संस्थाहरु थपिएको छ । एकीकरणका लागि फागुन २७ गते संयुक्त साधारण सभा बोलाइएको छ । यस्तै नियामक निकायहरुबाट स्विकृती पनि लिइसकेको बताइएको छ ।
Leave a comment