काठमाडौं । सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्ने विषय गलत भएको भन्दै भक्तपुर जिल्ला बचतले आपत्ति जनाएको छ।
संघले प्रेस विज्ञप्ती प्रकाशन गरी सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्धनका लागि केही ऐन संशोधन गर्न बनेको विधेयक मार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सिमा तोक्ने कुरा आएकोमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
सहकारी ऐन २०७४ संशोधन प्रस्तावमा सहकारीमा एक सदस्यले बचत तथा निक्षेप बढीमा २५ लाख मात्र राख्न सकिने गरी सिमा तोक्नु गलत भएको संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बताएका छन् ।
उनले यसले सहकारी क्षेत्रलाई संकुचित बनाउने र सहकारीको प्रगतिलाई छेकबार लगाउने बताए । सहकारीलाई सधै कमजोर बनाईराख्ने षड्यन्त्र भएको प्रति आफुहरुको आपति रहेको उनले बताए ।
यो निर्णयको संघले घोर आपति जनाउनुका साथै उक्त सिमा तोक्ने विषय अगाडी नबढाउन समेत माग गरेको छ । वित्तिय सहकारीलाई अनुगमन र निरिक्षण गर्न राष्ट्र बैंकलाई दिने संशोधन प्रस्ताव स्वागतयोग्य रहको संघले जनाएको छ ।
सहकारी अभियानलाई प्रतिगमनमा डोहोर्याउने गरी बचतको सिमा तोक्ने संशोधन प्रस्ताव हटाउन संघले माग गरेको छ । संशोधन प्रताव हटाउन राष्ट्रिय सहकारी महासंघले खेलेको भुमिकामा संघको ऐक्यवद्धता रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
सहकारी क्षेत्रले ७० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुका साथै अप्रत्यक्ष रुपमा विभिन्न पेशा, व्यवसाय, उधोग र व्यापार मार्फत लाखौ व्यक्तिहरुलाई रोजगारी प्रदान गदै आएको लाखाजुले बताए ।
७३ लाख सदस्य आवद्ध रहेको र संख्यात्मक तथा क्षेत्रगत रुपमा देशको ठुलो संजालको रुपमा सहकारी स्थापित भएको विज्ञप्तिमा भनिएको छ ।

Leave a comment