चीना थापा, विराटनगर । विराटनगर–१६ का रामकला कुवर र राधादेवी रानामगर कहिल्यै छुट्न चाहदैनन् । विगत २५ बर्षदेखि सँगै छन् । अलि टाढा भयो भने उनीहरुको सम्वन्ध झन् गाढा बन्छ । दुवै जना बैदेशिक रोजगारीमा गए । १५ बर्षसम्म कुवेत, इराक, साउदी, दुवईलगायतका देशमा गए । यसमध्ये कुवेतमा उनीहरुले एउटै कम्पनीमा काम गर्न पाए ।अरु समयमा एउटै देश भएपनि फरक फरक ठाउँमा पथ्र्यो । तर, उनीहरुको सम्वन्ध भने टाढा भएन ।
रामकलाले राधादेवीलाई दिदी मान्छिन् । ‘मेरो साथी भने नी, दिदी भनेनी, आमा भनेनी सबै उहाँ नै हो’, उनले भनिन्, ‘हामी झगडा नी गछौं, माया पनि गछौं, एउटै कोखबाट जन्मेका दिदी बहिनीको सम्वन्ध पनि यति लामो समयसम्मसँगै बस्दा नहुन सक्छ, तर, हाम्रो माया र साथमा कुनै कमी आएको छैन् र हामी आउन पनि दिदैनौं’ ।
राधादेवीका श्रीमान् र १ छोरी छिन् । रामकलाको श्रीमान्, दुई छोरा एक छोरी । दुबै जना विदेशबाट फर्केको २ बर्ष भयो । उमेरले ५० कटेका उनीहरु अझै वैदेशिक रोजगारीमा जाने सोचमा थिए । तर, उमेरले छेकेपछि जान पाएनन् ।
रामकला २०६५ सालदेखि जागरुक बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्य बनेकी थिईन् । पछि उनले राधादेवीलाई पनि सदस्य बनाईन् । दुवै जनाले कमाएको केही रकम बचत गर्दै गए । त्यसैबाट विगत दुई बर्षदेखि उनीहरु किराना पसल खोलेका छन् । संयुक्त ३ लाख लगानीमा सञ्चालनमा गरेका पसलले उनीहरुलाई राम्रो प्रतिफल पनि दिईरहेको छ।
उनीहरु पालैपालो पसलमा बस्ने, सामान किन्न जाने गर्दछन् । मिहेनतगर्नपछि नपर्ने रामकला राधादेवीलाई पसल जिम्मा लगाएर जागिर गर्ने सोचमा छिन् । जागिर पाएदेखि आफू जागिर गर्ने उनले बताईन् । ‘मलाई काम गर्न नै मन लाग्छ’, उनले हाँस्दै भनिन्, ‘कतै काम पाईयो भने काम नै गर्छु र पसल दिदिलाई जिम्मा दिन्छु’ । पसल सञ्चालनमा सहकारीले राम्रो सहयोग गरेको रामकलाले बताईन् ।
केही काम पर्दा सहकारीले गर्दा सहज भएको उनले बताईन् । स–साना व्यवसाय गर्नको लागि सहकारीबाट सजिलै ऋण लिन सकिने रामकलाको भनाई छ । ‘बैंकहरुमा जाँदा हामीलाई पत्याउँदैनन्’, उनले भनिन, ‘सहकारीले छिटो दिन्छ, पसल सञ्चालनको लागि पनि हामीले सहकारीबाट नै लिएका हौं ।
लिएर मात्र हुँदै तिर्न सक्नुपर्छ, हामी पनि इमान्दार भनेउ भने सहकारी संस्था पनि इमान्दार बन्ने त हो नी हैन ? सहकारी चलाउने पनि हाम्रै दिदिबही, दाजुभाई हुनुहुन्छ । चिनेर र बुझेर सदस्य बन्यो भने सहकारी हामी जस्ताको लागि एकदमै राम्रो हो।’
आफूहरु विदेश जाँदा पनि सहकारीबाट नै ऋण लिएर गएको उनले बताईन् । नियमित तिरिरहेको र ऋण पनि भनेको बेलामा पाईरहेको उनको भनाई छ । उनले स्वरोजगार कोषको सहूलियत कर्जाका लागि समेत निवेदन दिएको बताईन । विदेशमा कमाएको पैसा जग्गा र घर बनाउदा सकिएको बताउँदै उनले अबसहकारीबाट ऋण लिएर थप काम गर्ने सोच बनाएको बताईन।
सहकारीमा समस्या रहेको भएपनि हल्ला चलेपनि त्यसअनुसार समस्या नरहेको उनको भनाई छ । उनले भनिन्, ‘हामी शेयर सदस्य पनि सचेत बन्नुपर्छ, कस्तो सहकारीमा सदस्य बन्ने नबन्ने बुझ्नुपर्छ, व्याजको लोभमा जनु पायो त्यहीमा बचत गर्नु हुँदैन्, त्यति हो । हाम्रो चिनेजानेको मान्छेले चलाएकोमा हामीलाई डर हुँदैन।’
Leave a comment