हाइलाइट

सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्छ  : उप्रेती

सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्छ  : उप्रेती :: Sahakari Akhabar

पोखरा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीमा विश्वासको वातावरण बनाउन राज्यले भूमिका खेल्नु पर्ने बताए ।

पोखरामा राष्ट्रिय सहकारी बैंक तथा नेपाल सहकारी पत्रकार समाजले सहकारीकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उप्रेतीले सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्ने र अभियानको तर्फबाट ५ अर्ब संकलन गरी १५ अर्ब रुपैयाको कोष खडा गर्न आफुले पहल गर्दै आएको बताए । राजनीतिक आस्थाका आधारमा सहकारी संघ संस्थाको नेतृत्वमा पुगेको भएपनि अब त्यसलाई त्यागेर सहकारी बचाउन र सुशासनमा लैजान लाग्नु पर्नेमा उप्रेतीले जोड दिए ।

ऐनमा भएका कर्जा सूचना केन्द्र, ऋण असूली न्याधिकरण सन्दर्भ व्याजदरलाई परिमार्जन गरी स्वचालित बनाउने जस्ता कार्य राज्यले तत्काल अगाडि बढाउनु पर्ने उनले बताए । सहकारीले बचत फिर्ता दिन थाले भन्ने सन्देश बजारमा गएपछि सदस्यहरु बचत फिर्ताका लागि लाइन नबस्ने र नयाँ बचत पनि आउने उनको विश्वास छ।

पोखराका सहकारीमा तरलता कमी हैन, व्यवस्थापन कमजोर हो

पोखरामा रहेका सहकारी संस्थाहरुमा तरलताको कमी नभएर ब्यवस्थापनमा कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । पोखरामा सहकारीकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रम सहकारीकर्मीले सहकारीमा तरलता वृद्धि हुदै गएको बताएका हुन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोईरालाले विगत केहि समययता सहकारी संंस्थाहरुमा तरलता क्रमशः वृद्धि हुँदै आएको बताइन् । उनले सहकारी संस्थाहरुमा तरलतामा कमी भन्दा पनि व्यवस्थापन गर्न नजान्दा समस्या आएको बताइन् ।

संघमा ४१३ सहकारी संस्था आवद्ध रहेको जानकारी दिँदै उनले संस्थाहरुलाई २० प्रतिशत होईन ३० प्रतिशत तरलता कायम गर्न सुझाइएको जनाइन् । सदस्यहरुसँग नियमित अन्तरक्रिया गरी विश्वासको वातावरण बनाउन सके सहकारीमा तरलता अभाव नहुने कोइरालाको भनाई छ ।

संघले आफ्नै बहुउद्देश्यीय भवन निमार्ण गरी सदस्य संस्थाले उत्पादन गरेका वस्तुहरुको बजारिकरणमा सघाउने भएको छ भने पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरि कोसेली घर समेत सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

सिएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले केही सहकारीमा तरलता समस्या देखिएको भए पनि समस्या समाधानमा पहल भइरहेको बताए । कास्कीको सहकारी अभियानभन्दा बाहिर रहेका सहकारीमा तरलता समस्या रहेको उनले जानकारी दिए । पछिल्लो समय संस्थाहरुमा तरलता अवस्थामा सुधार हँुदै गएको समेत उनले बताए ।

सहकारीहरुमा तरलता बढेको भन्दै उनले ६–७ प्रतिशत तरलता रहेका संस्थाहरुमा समेत अहिले तरलता वृद्धि भएर १० प्रतिशत माथि पुगेको जानकारी दिए । राष्ट्र बैंकको गर्भनर जस्तै सहकारी विभागमा रजिष्ट्रार नियुक्ति नगरेसम्म सहकारी क्षेत्रमा सुधार नआउने उनको भनाई छ ।

सहकारी प्रवर्धन कोषको पैसा सहकारी महासंघ मार्फत परिचालन गर्नुपर्ने माग गर्दै कोईरालाले त्यसको सहि ढंगले परिचालन भएको छ छैन भनि विभागका रजिष्ट्रारले अनुगमन गर्नु पर्ने बताए । सिएमसी कास्कीमा १५० भन्दा बढी संस्थाहरुका व्यवस्थापकहरु आवद्ध रहेको र उनीहरुको क्षमता अभिवृद्धिका लागि हरेक महिना तालिम तथा गोष्ठीको आयोजना गर्दै आएको उनले बताए ।

सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बरालले केहि सहकारीमा समस्या आएको तर त्यसको हल्ला बढी हुँदा समुदायमा आधारित र सदस्यकेन्द्रित संस्थामा पनि सामान्य प्रभाव देखिएको बताए । सदस्यमा संस्थाहरु भाग्छन् वा डुब्छन् कि भन्ने जस्ता मनोवैज्ञानिक असर परेकाले उनीहरुलाई काउन्सिलिङि आवश्यकता रहेको उल्लेख गरे ।

पारिवारिक रुपमा चलेका सहकारी समस्या भए पनि सदस्यकेन्द्रीत संस्थामा तरलता समस्या नरहेको उनको भनाई छ । विगतमा संस्थामा अधिक तरलता हुँदा संस्थाहरुले लगानी गरे, ‘अहिले असुलीमा समस्या आउँदा अप्ठ्यारोमा परे ।

अन्तर सहकारी कारोबारको व्यवस्था भएको भए सहकारीलाई तरलता व्यवस्थापनमा सहज हुन्थ्यो ।’ आयातलाई प्रतिस्थापन र निर्यातलाई प्राथामिकतामा राख्नु पर्ने बताउँदै उनले सहकारीले अब साझेदारी उत्पादनमा जोडिनु पर्ने बेला आएको बताए ।

पोखरा रोयल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले विगतको तुलनामा अहिले सहकारीमा तरलता वृद्धि हुँदै गएको बताए । केही समय अघि संस्थाको तरलता १०–१२ प्रतिशत रहेको भए पनि अहिले वृद्धि भएर ३० प्रतिशतको हाराहारीमा पुगेको बताए ।

सहकारी स्वतन्त्र र स्वायत संस्था भए पनि राज्यले थोरै भए पनि अनुगमन गर्नुपर्नेमा उनले जोड दिए । सदस्यले समयमा ऋण नतिरिदिँदा र सहकारीका सञ्चालकले सुशासनमा ध्यान नदिँदा समस्या आएको भन्दै वित्तीय सुशासनमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेफ्स्कुनकी सञ्चालक कमलादेवी गिरी, बैंकका सञ्चालक राम बहादुर जिसी, बैंककी लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रकुमारी पराजुली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले उपस्थिति रहेको थियो ।



Leave a comment