बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सहकारीकर्मी अत्तालिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले असोज लागेसँगै निक्षेपमा आकर्षक ब्याज दिन थालेपछि त्यसको प्रत्यक्ष असर सहकारीलाई परेको छ । त्यसैको मौकामा खासगरी काठमाडौं आसपासका सहकारीहरुले सन्दर्भ ब्याजदर बढाउन लबिङ गरिरहेका छन् । तर, उपत्यकाबाहिरका सहकारीले भने सन्दर्भ ब्याजदरले खासै अफ्ठ्यारो नपारेको बताएका छन् । यसै बिषयमा सहकारी अखबारले उपत्यकाबाहिरका केही सहकारीकर्मीसँग गरेको कुराकारी :-
सन्दर्भ ब्याजदर भन्दा कममै ऋण दिन्छौं
वेदप्रसाद गौडेल (लेखा संयोजक : विजय सामुदायिक शिक्षा सहकारी संस्था, गैडाकोट)
यहाँ कर्जा प्रवाह १६ प्रतिशत पुगेको छैन । १४ प्रतिशत मै ऋण प्रवाह भइरहेको छ । सरकारले निर्धारण गरेको १६ प्रतिशत ब्याज महंगो भयो भन्ने छ । किसानले १२÷ १३ प्रतिशतमै ऋण पाउँछन् । सहकारी संस्था जनमुखी र जनताबाटै सञ्चालित हुन् । आफ्नै सदस्यबाट निर्वाचित भएर विधि, विधानबाट सञ्चालित हुन्छन् । तर, नियामक निकायबाट नियमन भएको छैन । जनताले के पाए पाएनन् हेर्ने नियामकले हो ।
सहकारीले जनमुखी भएर सदस्यलाई सेवा दिनुपर्छ । बचतकर्तालाई ब्याज दिनुपर्छ । यहाँ बचतकर्तालाई १० प्रतिशतसम्म दिएको पाइन्छ । त्यहीबाट आएको रकमबाट कर्मचारी तथा प्रशासनको खर्च धान्नुपर्ने हुन्छ । ५/६ प्रतिशतमा निक्षेप लिएर कर्जामा १६ प्रतिशत ब्याज तोकिदाँ भने असन्तुष्टी छ ।
तोकेको भन्दा बढी लिन कहिँ पनि पाइँदैन । सबै क्षेत्रका सहकारीले त्यस आधारभित्रै रहेर ऋण प्रवाह गर्नुपर्छ । काठमाडौं र हाम्रो गाउँ जिल्ला, क्षेत्रमा फरक छ । काठमाडौंमा ठूला संस्था, व्यापारी छन्, सहकारी भागेरका पनि छन् । यहाँ साना आम्दानी गरेर बचत जम्मा गर्ने जनता छन् । ऋणमा अहिले रहेको १६ प्रतिशत सीमा नै बढी हो । तर, काठमाडौंका सहकारीले कम भयो भनेर आन्दोलन गर्नुको कुनै तुक हुँदैन ।
१२ प्रतिशतमै कर्जा दिन्छौं
केशवसिंह श्रेष्ठ पूर्वअध्यक्ष (ग्रामीण साकोस सल्यान )
सन्दर्भ ब्याजदरले हामीलाई केही प्रभाव पारेको छैन । अहिले पछिल्लो समयमा देखिएको तरलता अभावले पनि धेरै ठूलो प्रभाव पारेको छैन । संस्थाले नियमित कर्जा दिइरहेका छ । संस्थाले ऋण १० देखि १२ प्रतिशतमै प्रदान गर्छ । सरकारले तय गरेको अधिकतम सीमा १६ प्रतिशतमा हामी पुगेका छैनौं । बचतमा सदस्यले ८ प्रतिशतसम्म ब्याज पाउँछन्।
संस्था सर्भाईभ हुन सहज भइरहेको छ । हाम्रो समुदायस्तरको सहकारी हो । २२ सय सदस्यमध्ये २ हजारले नियमित बचत गर्छन् । ५ सय भन्दा बढीले कर्जा लिएर उद्यम गरिरहेका छन्। कर्जामा १२ प्रतिशत भन्दा बढी नलिएपनि पछिल्लो समयमा बैंकले निक्षेपमै १५ प्रतिशत दिन थालेपछि केही प्रभाव पर्छ कि भन्ने लाग्न थालेको छ तर, हामीले १२ भन्दा माथि गएका छैनौं । कर्जाको सीमा बढ्दा निक्षेपको ब्याज पनि बढाउँछौं ।
बैंकको ब्याजले अप्ठेरो पार्यो
हुमबहादुर कुमाल ( अध्यक्ष– सूर्योदय साकोस स्यांङजा )
सहकारीको सन्दर्भ ब्याजदरले प्रभाव पारेको छ । बैंकले १४ प्रतिशत निक्षेपमै ब्याज दिइसक्यो । बैंकले कर्जामा १८ प्रतिशत बनाइसक्यो । अब सहकारीको पनि परिमार्जन गरेर बढाउनुपर्छ । कर्जामा १६ प्रतिशतको सीमाले धान्न धौधौ हुन थालेको छ ।
बैंकको ब्याज नबढ्दा त १६ प्रतिशत ठिकै मानिए पनि बैंकको ब्याज बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर सहकारीलाई परेको छ । स्यांङजामा सहकारीले निक्षेपमा ११–१२ प्रतिशत ब्याज दिइरहेका छन् । कर्जा १६ प्रतिशत आसपासमै दिइरहेका छन् । पछिल्लो परिस्थितिले कर्जाको सीमा बढाउनुपर्ने देखिएको छ ।
१६ प्रतिशत धान्न गाह्रो हुन्छ
मदन भट्टराई ( पूर्व अध्यक्ष–मोरङ साकोस )
पैसाको भ्यालू मंहगो भयो । बैंकहरुको ब्याज साढे १२ प्रतिशतमा गइसक्यो । त्यसैले सहकारीहरुले पनि बढी दिनुपर्ने अवस्था छ । सहकारीले पनि निक्षेपमा बढी ब्याज नदिए समस्या पर्ने देखिन्छ । सहकारीमा बढी ब्याज खोज्छन्, त्यसकारण पनि यहाँ आउँछन् ।
सहकारीले अब निक्षेपमै साढे १२, १३ नबनाइ निक्षेप आउँदैन । बैंकहरुले ३ महिनाकै मुद्धतीमा साढे १२ दिइसकेका छन् । १३ मा लिएर १६ मा लगानी गर्न ग्राहो हुन्छ । सहकारीलाई साढे ३ प्रतिशत स्प्रेडदरले पुग्दैन । बाह्य ऋण लिदाँ पनि सेवाशुल्क लिनुपर्छ । १६ प्रतिशतमा ऋण दिन गाह्रो हुन्छ ।
सन्दर्भ ब्याजदरले प्रभाव पारेको छैन
मिनप्रसाद सुवेदी ( सल्लाहकार– भरतपुर जनसेवा साकोस, चितवन )
सन्दर्भ ब्याजदरले हामीलाई केही प्रभाव पारेको छैन । सन्दर्भ ब्याजदरले निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न केही समस्या छैन । हामीले १४.५ प्रतिशतमै ऋण प्रवाह गरिरहेका छौं । निक्षेप ९ देखि साढे १० प्रतिशतमा दिने गरेका छौ । अब मुद्धतीमा ११ प्रतिशत दिने योजना छ । तिर्नेलाई पनि भार पार्न हुन्न भनेर हामी सजग छौं ।
Leave a comment