विराटनगर । मोरङको उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारीको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा दुई कर्मचारी पक्राउ परेका छन् । सदस्यको रकम संकलन गर्ने क्रममा कर्मचारी सम्पर्क विहिन भएपछि सहकारीले उजुरी हालेको थियो । उजुरीका आधारमा प्रहरीले बजार प्रतिनिधि रोजित पौडेलसहित अर्का एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सहकारीको २७ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले बताए । बजार प्रतिनिधिले मात्र यति ठूलो रकम हिनामिना गर्न नसक्ने भन्दै यसमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
बजार प्रतिनिधि पौडेलका बुबा होमप्रसादले आफ्नो छोरा एक्लैले यति ठूलो रकम हिनामिना गर्न सम्भव नरहेको भन्दै छोरो सोझो भएका कारण फसाइएको बताए । होमप्रसादले संस्थाका उपाध्यक्ष नारादमणी नेपालको नेतृत्वमा ११ धुर जग्गासहित घर हड्प्ने काम भएको आरोप लगाए ।
छोराले हिनामिना गरेको रकम असुल्ने भन्दै उपाध्यक्ष नेपालको जोडबलमा सो जग्गा व्यक्तिको नाममा रजिष्टे«सन पास गरेर हडप्ने काम भएको उनले बताए । छोरालाई कानुनी कारबाही नगर्ने भन्दै जग्गा रजिष्टे«सन पास गरेको तीन दिनमै प्रहरी लगाएर पक्राउ गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए ।
उता, संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले जग्गा संस्थाले लिएर हिनामिनाका विषयमा उन्मुक्ति दिने काम नहुने स्पष्ट पारे । ‘जग्गा संस्थाले लिएको छैन’ उनले भने ‘जसले जग्गा लिएको छ, उसैले जान्ने कुरा हो ।’ संस्था र शेयर सदस्यको अहित हुने काम नगरेको उनले बताए ।
कलेक्सनमा हिँड्दा वेपत्ता भएका थिए पौडेल
पक्राउ परेको बजार प्रतिनिधि पौडेल गत साउन ३० गते कलेक्सनमा हिँडेका बेला वेपत्ता भएका थिए । मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला क्षेत्रमा कलेक्सनमा जाने गरेका थिए उनी वेपत्ता भएपछि घरपरिवार, सहकारी संस्था र प्रहरीले खोजी गरेको थियो । हराएको भोलिपल्ट उनले घरमा फोन गरी काठमाडौंमा रहेको बताएका थिए ।
Leave a comment