हाइलाइट

९ वटा संस्था मर्ज गर्न सम्झौता, कुल कारोबार साढे ६ अर्ब

९ वटा संस्था मर्ज गर्न सम्झौता, कुल कारोबार साढे ६ अर्ब :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं र ललितपुरका ९ वटा सहकारी मर्ज गर्न सम्झौता गरेका छन् । न्यूरोडको जीवनदिप, कोटेश्वरको सदस्य सेवा, कोटेश्वरकै शुभलाभ, भोटाहिटीको शुभरत्न, न्यूरोडको अष्ट, चाबहिलको एभरट्रष्ट, चाबहिलको सर्वोच्च संमृद्धि बचत तथा ऋण सहकारी तथा कुमारीपाटीको गंगाजल र न्युरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारी मर्ज गर्न सम्झौता गरेका हुन् । साइन र नैतिक सहकारी मर्ज गर्न तयारीमा रहेपनि अन्तिममा सम्झौताबाट बाहिरिए ।

मर्जरपछि शुभसेवा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ । एकीकृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शितलप्रसाद शर्मा रहने छन् । संस्थाको उपाध्यक्षमा छत्रबहादुर बस्नेत, सचिवमा दीपक थापा मगर, कोषाध्यक्ष भवानी पोखरेल र सञ्चालकमा नीरबहादुर श्रेष्ठ, सुरेश शर्मा, अनिल खड्का हुनेछन् ।

लेखा समितिको संयोजकमा एकराज बस्नेत र सदस्यमा प्रेमबहादुर बस्नेत, कृष्णप्रसाद पौडेल हुनेछन् । एक महिनाभित्र साधारणसभा गरी आगामी तीन महिनाभित्र एकीकृत कारोबार सुरु हुने सहमति भएको छ ।मर्जरपछि संस्थाको सेयर पुँजी २७ करोड २९ लाख ६५ हजार हुनेछ ।

संस्थाको कुल कारोबार ६ अर्ब ४९ करोड हुने छ । ४ अर्ब ८९ करोड ६५ लाख निक्षेप संकलन गरी ५ अर्ब ३० करोड २८ लाख कर्जा प्रवाह हुने छ । संस्थाका सदस्य ६१ हजार ७ सय ४९ जना हुनेछन् । संस्थाका ऋणी सदस्य २ हजार ६३ जना हुनेछन् । संस्थाको तरलता ९७ करोेड ८९ लाख अर्थात २० प्रतिशत रहेको छ ।

मर्जर गर्नका लागि शुभलाभका अध्यक्ष याम्बरबहादुर कार्की, जीवनदीपका छत्रबहादुर बस्नेत, सदस्य सेवाका अध्यक्ष शितलप्रसाद शर्मा, शुभरत्नका अध्यक्ष भवानी पोखरेल, एभरट्रष्टका अध्यक्ष दीपक थापा मगर, गंगाजलका अध्यक्ष नीरबहादुर श्रेष्ठ, हाम्रो सेवाका अध्यक्ष सुरेश शर्मा, अष्टका अध्यक्ष अनिल खड्का, सर्वोच्च संमृद्धिका अध्यक्ष एकराज बस्नेतले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता अभाव बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मर्जर अभियान उपयुक्त हुने बताए । वास्तविकरुपमा एकीकरण हुन सके संस्थाको संख्या कम हुनुका साथै सदस्यलाई गुणस्तरीय सेवा दिन सकिने बताए ।

एकीकृत प्रस्तावित संस्थाका अध्यक्ष कार्कीले छिट्टै मर्जर प्रक्रिया टुंग्याएर एकीकृत कारोबार सुरु गर्ने बताए । ‘मर्जरले तरलता अभाव न्यूनिकरण गर्न सघाउने छ, सदस्यलाई गुणस्तरीय सेवा दिन सहज हुनेछ ।’



Leave a comment