काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ र उनका परिवारका विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति तथा ठगी गरी ४ अर्ब ४२ भन्दा बढी अकुत सम्पत्ति रहेको भन्दै विभागले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तामाङसँग ३ अर्ब ३१ करोड, उनकी श्रीमती सिर्जना तामाङ शाक्यसँग १ अर्ब ३ करोड अकुत सम्पत्ति रहेको भन्दै मुद्धा दायर गरेको विभागले जनाएको छ । त्यस्तै छोरीहरु प्रतिक्षा तामाङ विरुद्ध ६ करोड ६६ लाख र प्रतिशा तामाङविरुद्ध १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको विभागको दावी छ ।
विभागले सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध पनि विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनी विरुद्ध २६ करोड रुपैयाँ बराबरको बिगो दावी गरिएको छ । सिभिल सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा तामाङ र श्रेष्ठ जेलमै छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत असोजमा पक्राउ गरेको थियो । संस्थाका १ हजार ५ सय ३० जना निक्षेपकर्ताले विगत तीन वर्षदेखि निक्षेप फिर्ता नपाएको गुनासो गर्दै उजुरी दिएका थिए ।
Leave a comment