समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले संस्थाको ऋण असुली गरी साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेको लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना बचतकर्तालाई रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले संस्थाको ऋण असुली गरी साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
समितिका अनुसार अब संस्थाका १ सय ३८ जनाको ९ करोड ५६ लाख फिर्ता गराउन बाँकी रहेको छ । लुःनिभामा २ सय १४ जना बचतकर्ताले ११ करोड ७५ लाख रुपैयाँ निक्षेप दावी गर्दै उजुरी गरेका थिए । समितिले संस्थाको १ करोड १५ लाख रुपैयाँ ऋण असुल गरेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७६ साल साउन १२ गते समस्याग्रस्त घोषित भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिमा पठाइएको थियो । संस्थाका ऋणी संख्या २ सय ६ जना रहेकोमा १५ जनाले ऋण चुक्ता गरिसकेका छन् । १ सय ९१ जनाले भने अझै ऋण चुक्ता नगरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य डिबी बस्नेतले जानकारी दिए ।
समितिले लुःनिभाका सञ्चालक, ऋणी तथा नातेदारको बैंक खाता, जग्गा रोक्का राखेको छ । ठूला बचतकर्ताहरुलाई बचत रकमको १२ प्रतिशतका दरले बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ । ५० हजार भन्दा कम माग दावी भएका ३१ जनाको सावाँ बचत ४ लाख ७५ हजार रुपैयाँ फिर्ता पाएको समितिले जानकारी दिएको छ ।
Leave a comment