हाइलाइट

सहकारी विरुद्ध सरकारी विज्ञापन, ब्याजको लोभमा साँवा समेत गुम्ला !

सहकारी विरुद्ध सरकारी विज्ञापन, ब्याजको लोभमा साँवा समेत गुम्ला ! :: Sahakari Akhabar

काठमाडौं । सरकार आफैले दर्ता गरेको संस्थाहरु जोखिममा रहेको भन्दै सहकारी विरुद्ध सार्वजनिक सूचना नै निर्माण गरेको छ । समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि सर्वसाधारणलाई समेत बनाउने भन्दै सूचना निर्माण गरेपनि त्यसले समग्र सहकारीलाई असर पार्ने देखिएको छ ।

विज्ञापन बोर्डले पत्रपत्रिकामा भदौं महिनामा प्रकाशित गर्न बनाएको ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकारी सूचनामा सहकारीको कारोबार जोखिमपूर्ण रहेको र उच्च ब्याजको लोभमा साँवा समेत गुम्नसक्ने चेतावनी दिइएको छ । सूचनामा सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा संस्थाको विश्वसनिता परिक्षण गर्न, बढी ब्याजको लोभमा नफस्न सुझाव दिइएको छ ।

केहि सहकारी संस्थाहरु समस्याग्रस्त भएको र सदस्यको बचत फिर्ता नदिएको समाचार आएपछि बोर्डले सचेत रहन सूचना निर्माण गरेको बताएको छ । तर, सरोकारवालाहरुले भने यसले गलत सन्देश प्रवाह भएको र समग्र संस्थाहरुमा नकारात्मक प्रभाव पार्ने भन्दै विरोध गरिरहेका छन् । आर्थिक मन्दी र तरलता अभावले सहकारीलाई स्रोत व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला यस्ता विज्ञापनले सर्वसाधारणमा भ्रम सिर्जना गर्नेे उनीहरुको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले अहिलेको समय र परिस्थितिमा यस्तो सूचना आउनु गलत भएको बताइन् । ‘सबैतिर अभावै अभाव भएका बेला यस्ता विज्ञापन तथा सूचनाले सहकारीलाई झनै अफ्ठ्यारो पार्छ’ उनले भनिन्, ‘सरकारले प्रभावकारी नियमन गर्नुपर्छ, आफैले दर्ता गरेको संस्थामा जोखिम छ भन्न मिल्दैन ।’

गत आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्था सुरु भएको तरलता अभावको समस्या सहकारीमा पनि देखिन थालेको छ । तरलता अभाव भइरहेका बेला जारी भएका सूचनाले सहकारीप्रति विश्वास घट्दै जाने र यसबाट समग्र संस्थाहरुलाई असर पर्ने सरोकारवालाहरु बताउँछन् ।

नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सिए मनोज ज्ञवालीले सहकारीको स्रोत परिचालनमा कति र कस्तो असर पर्छ भन्ने हेक्का नराखी सूचना जारी गरिएको प्रतिक्रिया दिए । विज्ञापन सही भएपनि समय सही नभएको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

केही खराब सहकारीका कारण धेरै राम्रा सहकारीले स्रोत व्यवस्थापनमा समस्या झेलिरहका बेला सरकारी सूचनाले असर गर्ने  ज्ञवाली बताउँछन् । ‘सहकारीले १० खर्बसम्म स्रोत परिचालन गर्दा सरकार चुप लागेर बस्ने, पर्याप्त नियमनको व्यवस्था नगर्ने, अनि समस्या सिर्जना भयो भनेर पटकपटक यस्ता विज्ञापन छापेर जिम्मेवारी पूरा भएको सम्झिने हो त ?’ भन्दै ज्ञवालीले प्रश्न गरेका छन् ।

यता विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले पछिल्लो समयमा सहकारी समस्याग्रस्त भएको समाचार व्यापक आउन थालेपछि सचेत गराउन सूचना जारी गरिएको बताउँछन् । ‘उद्देश्य बुझेर मात्र कारोबार गर भनेर सचेतना जगाउन खोजेका हौं’, सापकोटा भन्छन्, ‘कसैप्रति लक्षित गरेको होइन ।’



Leave a comment