चीना थापा, विराटनगर । विराटनगर–८ का मुन्ना रौनियारले विराटनगरको महेन्द्र चोकमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारीमा नियमित बचत गर्दै आएका थिए । उनले १८ प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँ एक वर्षको लागि फिक्स डिपोजिट गरेका थिए ।
विराटनगरमा मोबाइल पसल रहेको उनले फिक्स डिपोजिटबाहेक दैनिक बचत पनि गर्दै आएका थिए । फिक्स डिपोजिट र दैनिक बचत गरी उनले जम्मा गरेको पाँच लाख पुगेको छ । अहिले निक्षेप गरेको रकम माग्न जाँदा सहकारीले झुलाउने गरेको उनको दुखेसो छ ।
‘मेरो फिक्स डिपोजिट गरेको रकम र दैनिक बचत गरेको रकम माग्न गएको हप्ता दिनभन्दा बढी भयो । तर, सहकारीले भाका मात्र दिने गर्दछ । पैसा दिँदैन’ उनले भने, ‘आफूले जम्मा गरेको रकम नपाएपछि अहिले प्रहरीको सहारा लिनुपर्ने अवस्था आएको छ ।’
‘खाई नखाई दुःख गरेर आर्जेको रकम जम्मा गरेको वर्षदिन भयो । आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारीले झुलाइरहेको छ । कहिले महिना दिनपछि आउनू । कहिले अर्को महिना आउनू भन्दै सहकारीमा आफूले जम्मा गरेको रकम झिक्न आएको हप्तौं बितिसक्यो ।
अहिलेसम्म आफूले बचत गरेको रकम सहकारीले दिन आलटाल गर्दै आएको छ’ उनले भने, ‘आफूले जम्मा गरेको रकम झिक्ने भन्दै सहकारी धाएको सयौं पटक भइसक्यो । तर, सहकारीले अर्को पटक आउनू भन्दै झुलाउने गरेको छ । कस्तो दिन आयो । आफूले जम्मा गरेको पैसा लिन पनि यस्तो सास्ती भोग्नुपर्ने ?’
यसरी सिद्धार्थ सहकारीमा बचत गरेको रकम झिक्न आउँदा आलटाल गर्दै झुलाउने गरेको उनलाई मात्र होइन, यस सहकारीमा दैनिक सयौंको संख्यामा निक्षेपकर्ताहरू आउने गरेका छन् । सहकारीमा पाँच हजार रुपैयाँदेखि १५ लाख रुपैयाँभन्दा बढी निक्षेप गरेको रकम झिक्न आउने गरेका छन् । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।
प्रहरीले सिद्धार्थ सहकारीका व्यवस्थापक उज्वल प्रधानलाई नियन्त्रणमा लिएपनि निपेक्षपकर्ताको रकम दिने मौखिक रूपमा आश्वासन दिएपछि थप कारवाही नगरी छोडेको छ । ‘सिद्धार्थ सहकारीले रकम नदिएको भन्दै निक्षेपकर्ताहरू प्रहरीमा आएका हुन्’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘उहाँहरूले जाहेरी नदिएपछि सोधपुछको लागि बोलाएको व्यवस्थापकलाई छोडिदिएका हौं ।’
विराटनगर–११ का सुमित साहले पनि दैनिक बचत गरेको ७५ हजार रुपैयाँ सिद्धार्थ सहकारीले दिएको छैन । ‘दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म सहकारीमा बचत गर्दै आएको थिएँ’ उनले भने, ‘अहिले आएर आफूले बचत गरेको पैसा लिन जाँदा दिएको छैन ।’ आफूले निक्षेप गरेको रकम नपाएपछि बाध्य भएर प्रहरीमा उजुरी दिने तयारी गरेको उनले सुनाए ।
सिद्धार्थ सहकारीले बचत र फिक्स डिपोजिट गरेका निक्षेपकर्ताहरूको अवधि पूरा हुँदा पनि जम्मा गरेको रकम नपाएपछि प्रहरीलाई गुहारेका छन् । दुई दर्जन बढी निपेक्षकर्ताहरूले सिद्धार्थ सहकारीमा जम्मा गरेको साँवा र ब्याजसहित रकम फिर्ताको माग गर्दै मोरङ प्रहरीमा उजुरी दिएका हुन् ।
प्रहरीले सिद्धार्थ सहकारीका व्यवस्थापक उज्वल प्रधानलाई नियन्त्रणमा लिएपनि निपेक्षपकर्ताको रकम दिने मौखिक रूपमा आश्वासन दिएपछि थप कारवाही नगरी छोडेको छ । ‘सिद्धार्थ सहकारीले रकम नदिएको भन्दै निक्षेपकर्ताहरू प्रहरीमा आएका हुन्’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘उहाँहरूले जाहेरी नदिएपछि सोधपुछको लागि बोलाएको व्यवस्थापकलाई छोडिदिएका हौं ।’
सहकारीका अध्यक्ष अनिल गौतमलाई यस विषयमा बुझन खोज्दा उनी सम्पर्कमा आएनन् । जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारीले कर्जा व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताउछन् । कोभिड–१९ पछिको तरलता अभावको कारणले पनि यस्तो समस्या आएको उनले बताए ।
समस्यामा परेका सहकारीहरूको लागि राष्ट्रिय सहकारी बैङ्कसँग जिल्ला सहकारी सङ्घले समन्वय गरेर तरलता व्यवस्थापनको लागि पहल गर्दै आएको उनले बताए । समस्या भएको सहकारीलाई तरलताको व्यवस्था गरेर सङ्घले संरक्षण गर्ने काम गरेको उनले बताए ।
विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख पृथ्वीकुमारी बस्नेतले राष्ट्रिय सहकारी महासंघसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताइन् । ‘समस्याप्रति हामी चिन्तित छौं’ उनले भनिन्, ‘विराटनगर महानगरपालिकाभित्र पर्ने सहकारीको अनुगमन र निरीक्षण गर्ने कामहरू भइरहेको छ ।’ सहकारीमा विकृति रोक्न अनुगमन बढाउने काम भइरहेको उनले बताइन् ।
Leave a comment