देउखुरी सहकारी : न वैधानिकता, न विघटन

देउखुरी सहकारी : न वैधानिकता, न विघटन :: Sahakari Akhabar

दाङ । चारवटा बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाले वैधानिकता नपाउने भएको छ । एकीकरणमा सहभागी एक सहकारी संस्था देखिएको हिनामिनाको विवाद लम्बिदै गएपछि एकीकरणले पूर्णता पाउन नसकेको हो ।

महाप्रभु, हरियाली, जनजिविका र बिहानी बचत तथा ऋण सहकारी संस्था मर्ज भइ देउखुरी बचत तथा ऋण सहकारी संस्था गठन गर्ने सहमति भएको थियो । तर, एकीकृत कारोबार गर्नुअघि महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख घोटाला काण्ड बाहिरिएपछि एकीकरण प्रक्रिया स्थगित भएको हो ।

समस्या सल्टाउने प्रयास गरेपनि असफल भएपछि चारवटै संस्था छुट्टिने निर्णय गरेका छन् । देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले तीन महिनाभित्र मर्ज गर्न नसकिएपछि सहकारी विभागमा विघटनका लागि निवेदन दिएको बताए । ‘हामीले जेठमा निवेदन दिएका हौं, मल्ल भन्छन्, ‘दुई महिना बितिसक्दा पनि केही जवाफ आएको छैन ।’

हिनामिना थाहा भएपछि चारवटै सहकारीको कारोबार आ–आफ्नै संस्थाबाट हुँदै आएको मल्ल बताउँछन् । ‘सम्पत्ति मिक्स भएको छैन,’मल्ल भन्छन्,‘सबैले आ–आफ्नै संस्थाको नामबाट कारोबार गरिरहेका छन् ।’ उनले देउखुरीको नामबाट अदालतमा उजुरी दिने र विभागमा बदरको निवेदन दिनेबाहेक अरु नगरिएको बताए । एकीकरणका लागि प्रोत्साहन गरेको नेफ्स्कूनले समेत संस्थाको समस्या सल्टाउन पहल गरेको छैन ।

विघटनका लागि पनि सहजीकरण नगरेको सहकारीका सञ्चालकहरु गुनासो गर्छन् । देउखुरी बचत तथा ऋण सहकारी संस्थाका नाममा महाप्रभुको घोटाला प्रकरणमा मुछिएका २५ व्यक्तिविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा उजुरी परेकोमा अध्यक्ष किरण भण्डारी र अर्का पदाधिकारी रुकमाङ्गद ज्ञवाली जेलमा छन् । एकीकरण घोषणामा महाप्रभुले ११ करोडको हिसाब दिए पनि पछि १६ करोडको देखिन आएपछि अदालतमा मुद्दा हालिएको थियो । 
 

यो पनि पढ्नुहोला ।



Leave a comment