नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को स्थापनाकालदेखि नै म कुनै न कुनै रुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छु । हाम्रो संस्था बिकु बचत तथा ऋण सहकारी यसको सदस्य हो । संस्थापक अध्यक्ष भोजराज घिमिरेले नेफ्स्कून जन्माउनुभयो र सुरुवाती नेतृत्व गर्नुभयो ।
त्यसपछि कैलाशभक्त प्रधानाङ्गले हुर्काउने काम गर्नुभयो । उहाँले नेफ्स्कूनलाई काठमाडौं उपत्यकाभन्दा बाहिर लैजानु हुँदैन भन्ने सोचले सदस्य संख्यामा वृद्धि गर्न सक्नुभएन । तर, सुशासनमा अडिग रहनुभयो । दुरुपयोग गर्ने काम गर्नुभएन । नेफ्स्कूनको छवी बचाइराख्नुभयो ।
कैलाश सरपछि मीनराज कडेँल नेतृत्वमा आउनुभयो । उहाँले नेफ्स्कूनको आन्तरिक संगठन बलियो बनाउने अभियानमा लाग्नुभयो । देशव्यापी सदस्यता विस्तारको अभियान चाल्नुभयो । यसले नेफ्स्कूनलाई माथि पुर्याउने काम गर्यो ।
त्यसपछि ऋषिराज घिमिरेले धेरै नयाँ कार्यक्रम सुरु गर्नुभयो । जति नयाँ कार्यक्रम आए ऋषि दाइको पालामा आए । जसले नेफ्स्कूनको इमेज बढ्दै गयो । डिबीजीको पालामा २ वटा काम भयो । थोरै बोल्नुभयो । जति बोल्नुभयो, त्यो पूरा गर्नुभयो । सरकार तथा सम्बन्धीत निकायसँग समन्वय धेरै राम्रो गर्नुभयो । नीति, विधि निर्माण गर्दा नेफ्स्कूनलाई सोध्नुपर्छ भन्ने मान्यता विकास गर्नुभयो । नेफ्स्कूनको आन्तरिक ब्यालेन्स सिट पनि राम्रो बनाउनुभयो ।
अहिले नेफ्स्कूनको नेतृत्वले अघिल्ला नेतृत्वले सुरु गरेका काममा निरन्तरता दिन सकेनन् । राजनीतिक भाग बन्डाले असहज होला । नेतृत्व चयन गर्दा अभियानमा धेरै योगदान दिएको, क्षमता भएको भन्दा पनि पार्टीले पठाएका, पार्टीको भागमा परेका मान्छेहरु नेतृत्वमा भए ।
अहिलेको नेतृत्वमा इस्युको लडाइ देख्दिन । कसलाई ल्याउने, कसलाई फाल्ने भन्नेमै नेतृत्व केन्द्रीत छ । को कति देश भ्रमण गर्ने भन्नेमै लडाइ छ । स्थिरीकरण कोषलाई कसरी ल्याउने, कोषमा कसरी पैसा आउँछ र आफ्नो अनुकुल प्रयोग गर्ने भन्नेमा नेतृत्वको लडाइ छ ।
अहिलेको स्थितिमा सहकारी संकटमा छन् । आर्थिक मन्दी छ । देश थला परेको छ । देश श्रीलंका बन्छ, पाकिस्तान बन्छ भन्ने डर लाग्दो स्थिति आइरहेको छ । यो अवस्थामा नेफ्स्कूनले अथवा केन्द्रीय संघहरूले आफ्ना मातहतका सदस्यलाई के कार्यक्रम दिए भन्ने यकिन छैन ।
कोभिडका बेला पनि वक्तव्य जारी गरे । अहिले पनि वक्तव्य जारी गर्नमै होडबाजी छ । यसले स्याल हुँइयाहा मात्र भयो । यसको असर उल्टो पर्यो । देशभरी यस्तो भयो कि साँच्चिकै सहकारीमा समस्या छ कि भन्ने देखियो । नराम्रो सन्देश फैलियो ।
अहिले नेफ्स्कूनको त्यत्रो पैसा पोको पारेर राखेका छन् । अथवा अरु कुनै कार्यमा काम गरेका छन् । संकटग्रस्त संस्थाहरुको न फलोअप छ न त भेटघाट । ती संस्थालाई एक किस्ता पनि प्रदान गरिएको छैन । बाटो पनि देखाइएको छैन ।
राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूले आफ्ना सदस्यहरुलाई भेटघाट गरेर कहाँनेर समस्या छ सल्टाउन काम गर्नुपर्छ । नेफ्स्कूनकै २४ अर्ब भन्दा बढी ब्यालेन्स सिट छ । संकटमा परेका संस्थालाई ऋण दिएर समस्या सल्टाउन तर्फ लाग्नुपर्छ । निश्चित समयभित्र तिर भनेर पनि सहयोग गर्न सकिन्छ । उक्त रकम संस्थाका सदस्यलाई बचत फिर्ता गर्ने हो भने त्यसले राम्रो सन्देश जानेछ ।
अहिले नेफ्स्कूनको त्यत्रो पैसा पोको पारेर राखेका छन् । अथवा अरु कुनै कार्यमा काम गरेका छन् । संकटग्रस्त संस्थाहरुको न फलोअप छ न त भेटघाट । ती संस्थालाई एक किस्ता पनि प्रदान गरिएको छैन । बाटो पनि देखाइएको छैन ।
संघका नेतृत्वहरूलाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने विषयमा चिन्ता नै छैन । वक्तव्य÷निर्देशन जारी गरौं हाम्रो कर्तव्य त्यतिमात्र हो भन्ने छ । धाने धानिन्छन्, नधानिए धानिन्नन्, टाट पल्टे पल्टिन्छन्, नपल्टे पल्टिन्नन् जस्तो ब्यवहार भएको छ । अहिलेको इस्युमा कुनै मतलब छैन ।
सदस्यको पैसा तिर्न सके तिर्छन्, तिर्न नसके असुरक्षित छ भनेर कानमा तेल हालेर बसेर मात्र हुँदैन । के यसले अभियानको इमेज माथि उठ्छ र ? अहिलेको यो संकट सहकारीमा मात्रै होइन, देशव्यापी रुपमा आएको छ । सदस्यहरुलाई नआत्तिनुहोस्, भएभरको बचत फिर्ता नलिनुहोस् भन्ने हो ।
हामी जिम्मेवार छौं, हामीसँग यति कोष छ, सरकारसँग पनि यति कोष छ । पैसा डुब्नबाट बचाउँछौँ भनेर सदस्यहरुलाई आश्वास्त पार्ने काम भएन । संस्थालाई पनि खबरदार गरी गल्ती गरेको भए कारवाहीको भागिदार हुन्छौं भन्न सक्नुपर्छ । संस्थामा गएर, हेरेर समस्या पत्ता लगाउन सक्नुपर्छ ।
कसरी समस्या पत्ता लगाउन सकिन्छ, हेर्नुपर्छ । संकटमा परेका सहकारीलाई पुनर्जीवन दिइ सञ्चालनमा सहजीकरण गर्न नेतृत्वले कुनै योजना ल्याएको छैन । प्रयास गर्नुभएको होला साथीहरुले तर त्यसमा विश्वस्त हुने अवस्था छैन ।
केन्द्रमा बसेका छन्, बैठक गरेका छन्, कहिले कहाँ, कहिले कहाँ बैठक बसेका छन्, अरु केही गरेका छैनन् । अघिल्ला नेतृत्वहरूले रचनात्मक काम गर्दै आएकोमा अहिलेको नेतृत्वले निरन्तरता दिन सकेन, बरु भत्काउने काम गर्यो । घिमिरे, कँडेल, बस्नेत नेतृत्व गर्दा बनाएको नेफ्स्कूनको साख गिर्दो छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा संचालक संस्था कति राम्रो भन्ने अवस्था छैन । राजनीतिक भागबण्डामा गठन भएको नेतृत्वले साकोस अभियानको विकासका लागि काम गर्न सकेन । सञ्चालक समिति हाबी भयो, व्यवस्थापनले पनि स्वतन्त्र रुपमा काम गर्न सकेको छैन । ( कुराकानीमा आधारित )
Leave a comment