बचत फिर्ता नपाएको भन्दै ९ सहकारी विरुद्ध उजुरी 

बचत फिर्ता नपाएको भन्दै ९ सहकारी विरुद्ध उजुरी  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिभित्र संचालित ९ वटा सहकारी संस्थाले बचत फिर्ता नदिइएको भन्दै महानगरको सहकारी महाशाखामा उजुरी परेको छ । पैसा नदिएको भन्दै सुमेरु बचत तथा ऋण सहकारी, मिशन बचत तथा ऋण, रिद्धिसिद्धि बचत तथा ऋण सहकारी, जामुनेश्वर बचत तथा ऋण सहकारी, शिवम् बचत तथा ऋण, सिद्धार्थ बचत तथा ऋण विरुद्ध उजुरी परेको हो । यसैगरी जामुनेश्वर सहकारीको उजुरी परेको दुई बर्ष भईसक्दा पनि सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन ।

सहकारीलाई छलफलको लागि बोलाउँदा धेरै ‘प्रेसर गरे सहकारी महाखामा नै आएर मर्दिने’ धम्की दिने गरेको महाशाखा प्रमुख पृथ्वी कुमारी  बस्नेतले जानकारी दिइन् । अन्य सहकारीको पनि समस्या समाधान हुन सकेको छैन । सहकारीहरुको वेवास्ताका कारण पटक पटक ताकेता गर्दा पनि सहकारी सञ्चालकहरु छलफलमा नआउने गरेको उनको गुनासो छ ।

३७ वटाको कार्यालय नै भेटिएनन्

महानगरपालिकाको सहकारी महाशाखाले गत आर्थिक बर्षसम्म १७६ वटा सहकारीको अनुगमन गरेको छ । महानगरपालिकामा १९३ वटा सहकारी दर्ता छन् । तीन तहको सरकार बनेपछि २०७५ सालमा सहकारी विभागले सहकारीका फाईलहरु सम्वन्धित स्थानीय तह तथा प्रदेश सरकार मातहतका कार्यालयमा बुझाएको थियो ।

सहकारी विभागले फाईल बुझाएको लामो समयसम्म पनि स्थानीय तहहरुमा सहकारीका फाईल खुल्न सकेनन् । ५ बर्षको अवधिमा महानगरले संस्थाहरुको एक चरणको अनुगमन भने सकेको छ । अनुगमन गरिएका सहकारीका फाईलहरु पनि व्यवस्थित गरिएको महानगरपालिकाले जनाएको छ ।

अनुगमन गरेका मध्ये ३७ वटा सहकारीको कार्यालय नै नभेटिएको विराटनगर महाशाखा प्रमुख बस्नेतले जानकारी दिईन । ‘महानगरका सहकारी कस्तो अवस्थामा सञ्चालन भईरहेका छन् भन्ने बारे हेरिसक्यौ’, कर्मचारीको अभावका कारण पनि हामीले महानगरमा सञ्चालित सहकारी खोज्न समय लाग्यो ।’

अनुगमनको क्रममा धेरै सहकारीहरु नियम विपरित चलेको र अनुगमनका लागि समेत सहयोग नगरेको बस्नेतले बताइन् । ‘अनुगमनमा गयो, संस्थामा पुगेपछि कहिले अध्यक्ष बाहिर भन्ने, कहिले कर्मचारी छैनन् भन्ने कहिले के वहाना बनाउने, सहकारी संस्थाका कारण पनि सहकारी अनुगमनमा ढिला भएको हो’ उनले भनीन् ।

सदस्यको पैसालाई सहकारीले निकै हल्का रुपमा लिएको पाईएको बस्नेतले बताईन । ‘सहकारी संस्थाहरु सहकारीको मूल्य मान्यता र भावना अनुरुप चल्नुपर्ने हो, तर त्यस्तो पाईएन’,उनले भनिन्, सदस्यको मेहनतको पैसालाई सामान्य लिएको पाईयो, यसले गर्दा विराटनगरका सहकारीमा पनि धेरै समस्या देखिएको छ ।’

११२ वटाले बुझाएनन् प्रतिवेदन

विराटनगरमा सञ्चालित ११२ वटा सहकारीले लेखा परिक्षण प्रतिवेदन तथा बार्षिक साधारण सभाको प्रतिवेदन बुझाएका छैनन् । महानगरका १९३ वटा सहकारी मध्ये ८१ वटा सहकारीले मात्र गत आर्थिक बर्षमा लेखा परिक्षण प्रतिवेदन तथा बार्षिक साधारण सभाको प्रतिवेदन बुझाएका छन् ।

आर्थिक बर्ष सुरु भएको तीन महिनामा लेखापरिक्षण प्रतिवेदन र पुस मसान्तसम्ममा बार्षिक साधारण सभाको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । तर सहकारीहरुले पिकनिक गरेर माघ–फागुनमा मात्रै प्रतिवेदन ल्याउने गरेका छन् । समय कटिसकेपछि महानगरले प्रतिवेदन नलिएको बस्नेतले जानकारी दिइन् ।



Leave a comment