आम रुपमा बचत तथा ऋण सहकारीमा बचत गर्दा बैंकमा भन्दा बढि ब्याज पाइने र ऋण लिदा सजिलै र छिटो हुने संस्थाको रुपमा पहिचान बन्दै गएको छ । सर्वसाधारण तथा सरोकारवालाहरुले सहकारीलाई वित्तिय कारोबार गर्ने संस्थाको रुपमा मात्र ब्यवहार गरेपछि सहकारीको मर्म र मान्यता भने ओझेलमा पर्दै गएको छ । सहरी क्षेत्रमा एकाध संस्थामा यो अवस्था भएपनि समग्रमा सहकारीको भूमिका भने फरक छ । वित्तीय कारोबार गर्ने सहकारीले सदस्यलाई बचत तथा ऋणका अतिरित्त सदस्यको आवश्यक्ता अनुसार सामाजिक तथा सास्कृतिक उत्थानका लागि समेत काम गरेका छन् । बचत संकलन गर्ने र ऋण लगानी गर्नुको अलावा सहकारीले आफ्ना सदस्य र समूदायका लागि के कस्तो काम गरिरहेका छन् त ? यसै विषयमा सहकारी अखबारले केही प्रतिनिधिमुलक संस्थासँग गरेको कुराकानी –
सामाजिक सुरक्षामा प्राथमिकता
महेन्द्र गिरी ( प्रवन्ध संचालक–सहारा नेपाल साकोस, झापा )
हामीले सदस्य तथा समुदायको हितमा उल्लेख्य काम गरेका छौं । सदस्यको आर्थिकस्तर उकास्नका लागि उनीहरुलाई ऋण लगानीबाट उद्यमी बनाउने काम त छदैछ यसबाहेक सामाजिक सुरक्षा योजनाहरुमा पनि जोडेका छौं । ज्येष्ठ नागरिक, एकल महिलालाई भत्ता दिन्छौं ।
गाउँ गाउँमा जेष्ठ नागरिक चौतारी बनाउने काम पनि गरेका छौं । समुदायका लागि विद्यालयको स्तरउन्नती, सर्पदंश उपचार केन्द्र स्थापनालगायतका काममा सघाएका छौं । सदस्य बिरामी पर्दा १० लाखसम्म उपचार खर्च दिइरहेका छौं ।
वृक्षारोपण गरौं
कुमार खत्री ( म्यानेजर,कल्याणकारी साकोस, ललितपुर )
सहकारीको कार्यक्षेत्र लामाटारमा–२ सय वृक्षारोपण गरेका छौं । शहर हरियाली बनाउन वृक्षारोपण गरिएको हो । नेपाल हर्ट फाउन्डेसनलाई ल्यापटप र प्रिन्टर सहयोग गरेका छौं । वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छौं ।
सदस्यको हितका लागि आवश्यकता अनुसारका काम गछौं । सदस्यलाई स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेका छौं । ऋणीलाई व्यवसायिक रुपमा अघि बढाउन उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्न थालेका छौं ।
गर्भदेखि स्वर्गसम्मका सेवा
माधव प्रसाद पौडेल (प्रमुख कार्यकारी अधिकृत, बिकु साकोस )
बिकु सहकारीले आर्थिक मात्र नभई सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । सदस्यलाई गर्भदेखि स्वर्गसम्मका लागि आवश्यक सेवा दिएका छौं । यसो गर्न सके सदस्य सहकारीसँगै हुन्छन् । बिकु समुदायमा आधारित संस्था हो । आर्थिक संकलन मात्र नभई सामाजिक सुरक्षाका कार्यक्रम पनि गर्दै आएको छ ।
विकुले कक्षा १ देखि १० कक्षासम्मका ६० जनालाई छात्रवृति दिइरहेको छ । सुत्केरीलाई सहयोग, गर्भवतीलाई पोषिलो आहार, सदस्यलाई व्यवसायिक तालिम, सदस्यको करेसाबारी–हरियो तरकारी, बुढेशकालको सहारा टेक्ने लौरो लगायतका गतिविधि गछौं । उपचारका लागि ५० हजारसम्म निव्र्याजी ऋण उपलब्ध गराउँछौं ।
सदस्यको सुरक्षा पहिलो प्राथमिकता
केबी लामा (प्रमुख कार्यकारी अधिकृत–बिन्धबासिनी साकोस, काभ्रे)
हामीले सदस्य सुरक्षण कार्यक्रमलाई प्राथमिकता दिएका छौं । ग्रामीण क्षेत्रमा केन्द्रीत गरी २०५८ देखि नै यस्तो कार्यक्रम सुरु गरिएको हो । सदस्य बिरामी भएमा उपचारका लागि १० हजार सम्म निशुल्क पाउँछन् । यस्तो सुविधा दुई पटकसम्म लिन सकिन्छ ।
परिवारका सदस्य मृत्यु हुँदा ३ पटकसम्म गरी १५ हजार लिन पाइने व्यवस्था गरेका छौं । दैवी प्रकोपमा पिडित सदस्यलाई ५ हजार रुपैयाँ राहत दिन्छौं । सदस्यको मृत्यु हुँदा परिवारलाई २० हजार किरिया खर्च दिने गरिएको छ । सुत्केरीलाई २ पटकसम्म ५ सय रुपैयाँ पनि दिन्छौं ।
यसरी एउटै सदस्यले ६१ हजारसम्म निःशुल्क पाउन सक्छन् । अघिल्लो वर्ष यस कार्यक्रम अन्र्तगत ६८ लाख खर्च भएकोमा गत आर्थिक वर्षमा १ करोड ३० लाख खर्च भएको छ । कोभिडपछि यसको चाप बढेको छ। संस्थाले सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
बालकदेखि वृद्धसम्मका लागि योजना छ
भीम गुरुङ (प्रमुख कार्यकारी अधिकृत–पोखरा रोयल साकोस )
सहकारीमा गैरवित्तीय सेवा प्रभावकारी बन्दै गएको छ । सदस्यको हितका लागि जन्मदेखि मृत्युसम्मका घटनामा सहयोग गर्नेगरी अघि बढेका छौं । बालकदेखि वृद्धसम्मका लागि योजना छ । सदस्य बिरामी हुँदा पनि सहयोग गर्ने गरेका छौं । २ चोटी उपचार खर्च दिन्छौं । ७५ वर्ष पुगेपछि वार्षिक ५ हजार पेन्सन दिन्छौं । सदस्यको मृत्यु हुँदा पनि परिवारलाई किरिया खर्च दिने गरेका छौं ।
सदस्यलाई तालिम सीपमूलक दिन्छौं । ऋण सदुपयोग भए नभएको अनुगमन गरी उद्यमी बनाउन प्रेरित गछौं । गमला, अचार बनाउने तरकारी रोप्ने लगायतका सीपमूलक तालिम दिन्छौं । संस्थाले प्रौढ शिक्षा संचालन गरेको छ । जसबाट ५ सय बढी महिला साक्षर भएका छन् ।
सामाजिक गतिविधि सञ्चालन गर्न रोयल फाउन्डेसन खडा गरेका छौं । जसका लागि विउ पुँजी संस्थाले उपलब्ध गराएको छ । सदस्यले पनि सहयोग गरेका छन्। स्वास्थ्य शिविर पनि सञ्चालन गर्छाै । क्यान्सर भएमा सहयोग गर्ने गरेका छौं । स्कुल–स्कुलमा गएर विद्यार्थीलाई वित्तीय तथा डिजिटल साक्षरता दिन्छौं ।
बैठक सञ्चालन गर्ने तरिका सिकाउँछौं । विद्यालयकै नाम राखेर क्लव गठन हुन्छ । उनीहरुलाई पारिवारिक बजेट बनाउन लगायत वित्तीय साक्षरता दिन्छौं । बिउ पुँजी पनि दिन्छौं । बिजनेस हाउससँग सम्झौता गरी कोप कार्डबाट छुट पाउने सुविधा पनि दिएका छौं ।
फरक क्षमताका सदस्यलाई ब्याजमा सुविधा
सीमा पुरी (अध्यक्ष–सज्जन महिला बचत तथा ऋण सहकारी संस्था )
संस्थाले सहकारी शिक्षा, तालिममा प्राथमिकता दिएको छ । सदस्यदलाई उद्यमी बनाउन विभिन्न कार्यक्रम संचालन गछौं । फरक क्षमता भएका सदस्यलाई ब्याजमा थप सुविधा दिन्छौं । हरेक वर्ष विभिन्न ६ वटा विधामा पुरस्कार दिने गरेका छौं । जेष्ठ नागरिक सदस्यलाई तिर्थयात्रामा लैजान्छौं ।
नारी दिवसमा कविता प्र्रतियोगिता गछौं । स्तन क्यान्सरका बिरामीलाई सहयोग पनि गछौं । त्यस्तै वित्तीय साक्षरतामा जोड दिएका छौं । टोल सफा राख्न सदस्यलाई जिम्मेवारी दिन्छौं । सरसफाइमा सदस्य जोडिएका छन् । संस्था तथा सदस्यबाट रचनात्मक काम भएको छ ।
ज्येष्ठ नागरिकलाई उपहार दिन्छौं
कबिन्द्र धौबन्जार (सामूहिक साकोस, भक्तपुर)
अफ्ठ्यारो बेला वित्तीय सेवा नै मुख्य कुरा हो । हामी त्यसैमा केन्द्रित छौं । संस्थाले गैरवित्तीय सेवालाई पनि नियमित कार्यक्रममा राखेर प्रभावकारी ढंगले सेवा दिइरहेको छ । विभिन्न समूहको सहकार्यमा भाषा, संस्कृति जर्गेनाको काम गरेका छौं । वार्षिकरुपमै उत्कृष्ट बचतकर्ता, असल ऋणीलाई सम्मान गर्छाै ।
तीन वर्षअघि कर्मचारी पनि छनोट गरी पुरस्कृत गर्दै आएका छौं । स्थापना दिवसका अवसरमा सदस्य तथा छोराछोरीलाई सम्मान गछौं । ७० वर्ष माथिका सदस्यलाई जेष्ठ नागरिक सम्मान गर्छौ । जेष्ठ सदस्य उपहार कार्यक्रम राख्छौं । अण्डा, हर्लिक्स उपहार दिन्छौं । आमा र बुवाको मुख हेर्ने दिन संस्थाले उपहार दिन्छ ।
रक्तदान, स्वास्थ्य शिविर, निशुल्क आँखा शिविर गर्ने गरेका छौं । मोतियाविन्दुको अपरेसन गर्नुपर्ने भएमा अस्पताल लैजान सहजीकरण गर्छाै । कोभिडका बेला अक्सिजन प्लान्ट बनाउन सहयोग गरेका थियौं ।
हरेक दिन पहिलो सदस्यबाट कारोबार शुभारम्भ
अनन्त श्रेष्ठ (अध्यक्ष–तिर्थ साकोस काठमाडौं )
सदस्यलाई शिक्षामा पहिलो प्राथमिकता दिएका छौं । संस्थाको बारेमा जानकारी दिने, सदस्यको व्यवसायका बारेमा अपडेट लिने गरेका छौं । उद्यमशीलता तालिम कार्यालयमै सञ्चालन गर्ने योजना अघि बढाएका छौं । सदस्यसँग अन्तरक्रिया गर्ने, सदस्यको इच्छा चाहनाअनुसार व्यवसायिक क्षेत्रको प्राविधिक तालिम दिने योजना बनाएका छौं ।
सदस्यलाई सुखी र संमृद्धि बनाउन हामी क्रियाशील छौं । सदस्यको वृद्धि विकास भए मात्रै संस्था सफल हुने हो । सदस्य सक्षम भएमा मात्रै संस्थाको लगानी सफल हुने भएकाले हामी त्यसतर्फ सक्रिय भएका छौं । हामी हरेक दिन पहिलो पटक सेवा लिन आउनेबाट बत्ती बालेर कारोबार सुरु गर्छाै । महिनामा उत्कृष्टमा कारोबार गर्ने संदस्यलाई कार्यालयमै बोलाएर सम्मान गर्छौ ।
सम्पदा जगेर्नामा काम
पार्वती थापा ( म्यानेजर–सक्षम साकोस बनेपा)
लोप हुन थालेका संस्कृतिक सम्पदा जर्गेनामा काम गछौं । सरसफाइ अभियानमा पनि जुटेका छौं । त्यस्तै साहित्यकार सम्मान गर्ने, साहित्यसम्बन्धी पुस्तक, लेखा, सहकारी सम्बन्धी पुस्तक तथा लेखहरु सदस्यलाई उपलब्ध गराउने गरेका छौं ।
‘मेरो बनेपा, मेरो गौरब’ गीत प्रकाशन गरेका छौं । यसमा बनेपाको धार्मिक तथा संस्कृति क्षेत्रको पहिचान बोकेको छ । संस्कृति समेटिएको पुस्तक पनि प्रकाशन गरेका छौं । स्थापना दिवसमा उत्कृष्ट काम गरेका सदस्यलाई सम्मान गर्छाै । साहित्यकारलाई पनि सम्मान गर्ने गरेका छौं । रक्तदान गछौं । गरिबी तथा न्यून वर्गलाई आर्थिक सहयोग पनि गरिरहेका छौं ।
Leave a comment