पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी शनिवारदेखि पोखरामा सुरु गरेको छ । गत आर्थिक वर्षको समिक्षा गरी चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ समिक्षा गोष्ठी शुरु गरिएको बैंकले जनाएको छ ।
३ दिनसम्म सञ्चालन हुने वार्षिक समिक्षा गोष्ठीको बैंकका अध्यक्ष के.बी.उप्रेतीले शुभारम्भ गरे । अध्यक्ष उप्रेतीले बैंकको रणनीतिक योजना अनुसार प्रतिफल प्राप्न गर्नका लागि शाखा प्रमुखको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने अपेक्षा व्यक्त गरे ।
जोखिमलाई न्यूनिकरण गर्दै सदस्य सन्तुष्टीलाई ध्यान दिएर काम गर्न निर्देशन दिदै अध्यक्ष उप्रेतीले सहकारी बैंकका सवल पक्षलाई आम सहकारी संघ संस्थामा पु¥याउने र देखिएका समस्याहरुलाई समयमै समाधान गरेर अगाडि बढ्ने बताए ।
सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भए पनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता र असफलतासंग जोडिने भएकाले बैंकका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन, शाखा प्रमुखहरु र सम्पूर्ण कर्मचारीहरुको अतिरिक्त सक्रियता र समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्ने उनको भनाइ भयो ।
पछिल्लो समय देशव्यापी रुपमा देखिएको सहकारीका समस्यालाई समाधानका लागि बैंकले आफ्नोतर्फबाट सक्दो प्रयत्न गरेको जानकारी गराउदै अध्यक्ष उप्रेतीले सहकारीमा आउन सक्ने समस्याका बारेमा बैंकका शाखा प्रमुखहरुले स्थानीय स्तरमा रहेका सरोकारवालाहरुंसंग समन्वय गरेर समाधानमा योगदान गर्न आव्हान गरे ।
बैंकले बनाएको रणनीतिक योजनालाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि विशेषत शाखा प्रमुखहरुको भूमिका सवल हुनु पर्ने चर्चा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गोष्ठीमा ६८ वटै शाखाको समग्र समिक्षा गरी आगामी दिनमा गर्नु पर्ने कामका बारेमा प्रभावकारी योजना निर्माण गरिने बताए ।
गोष्ठीमा बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, उच्च व्यवस्थापन, सचिवालय र बैंकका ६८ वटै शाखाका प्रमुखहरु सहितको सहभागिता छ ।
कार्यक्रमको सञ्चालन बैंकको सञ्चालन शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गर्नु भएको थियो । सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार शेयर सदस्य, करिव ३ अर्ब शेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया