काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ बैंकको छुट्टै कोष बनाएको हो । यसअघि कोभिड महमारीमा पनि बैंकले छुट्टै तरलता कोष निर्माण गरेको थियो ।
साउन १९ गते सम्पन्न बैंक सञ्चालक समितिको वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
यसैगरी बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउन सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका ७ वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।
सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले बताए ।
सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सहकारी संघ संस्थाहरुले काम गर्दै गर्दा आइपर्ने समस्या समाधानका लागि बैंकका तर्फबाट समन्वय गर्ने र आवश्यकताका आधारमा तत्काल सहयोग समेत गर्ने गरी कोष स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिृकत गुरागाईले जानकारी दिए ।
Leave a comment