देश वित्तीय संकटबाट गुज्रिरहेको छ। यस अघिका भूकम्प तथा कोभिडको मारलाई थेगेको मुलुकले अहिले वित्तीय संकट र तरलता अभावको सामना गरिरहेको छ। हरेक नेपालीको भान्सादेखि भन्सारसम्म परेको प्रभावले बैंक वित्तीय संस्था लगायत वित्तीय कारोबार गर्ने सहकारीहरुमा पनि समस्या देखिंदै गएको छ।
अहिले केही सहकारीहरुमा तरलता अभाव देखिंदा बचतकर्ताहरु सडकमा आन्दोलनरत छन्। सहकारीले बचत फिर्ता नदिएपछि बचतकर्ताहरु प्रहरी प्रशासन धाउने, नियामककोमा उजुरी दिने तथा सडकमा चक्का जाम गर्नेसम्मका कार्य गर्न उत्रिएका छन्।
बचतकर्ता सडकमा किन उत्रिए? के सहकारीमा यस्तो दिन आउन हुन्छ? के सहकारीले बचतकर्तालाई सडकमा आउने अवस्था ल्याउनुहुन्छ? यतिबेला पूर्व अर्थमन्त्री युवराज खतिवडाको भनाई याद आयो, उनले एउटा कार्यक्रममा भनेका थिए - “सहकारीमा समस्या आउनुहुन्न, यदि बचत फिर्ता दिन नसक्ने जस्ता समस्या आए भने त्यो सहकारी हैन।”
वास्तवमा सहकारीमा मात्र हैन कुनै क्षेत्रमा पनि समस्या आउनुहुन्न, तर समस्या नभएको क्षेत्र चाहीं हुन्न, कम र बेसी मात्र हो। तर अहिले आएको समस्या एकल सहकारी क्षेत्रमा मात्र हैन समग्र क्षेत्रमा हो, यसलाई समाधान गर्न हामिले संयम अपनाउनु पर्छ। सहकारी क्षेत्र वृहत अनि पृथक पनि छ, त्यसैले यसमा आबद्ध ७० लाख आदरणीय सदस्यहरुलाई विशेष संयम अपनाउन अनुरोध गर्दै जय सहकारी! भन्न मन लाग्यो।
डा. युवराज खतिवडाले किन त्यसो भनेका होलान् भने सहकारी समुदायमा संचालन हुने व्यवसाय हो यो समुदायमै निहित हुन्छ, सहकारी कुनै एउटा व्यक्तिको व्यवसाय हैन, त्यसमा आबद्ध सदस्यहरु सबैको हो। समस्या आए सबैलाई आउँछ र आएपछि सबैले मिलेर समाधान पनि गर्न सक्छन्, बजारमा छरपष्ट हुँदैन। त्यसैले भरसक समस्या आउन दिंदैनन्।
भवितव्य परी समस्या परिहाले सबैजना जिम्मेवार भएर समाधानको प्रयास हुन्छ। समस्या सहकारी संस्थामा हैन, व्यक्तिमा हो त्यो व्यक्ति परिवर्तन गरेर पनि सहकारी संस्था संचालन गर्नसक्नु पर्छ। किनकि सहकारी सदस्यको संस्था हो। हिजो ओरेण्टल, सिभिल, गुडविल, देउराली अनि आज गौतमश्री सहकारी समस्यामा परे किनकि सदस्यले सुधीर बस्नेत र इच्छाराज तामाङ्ग लगायतका व्यक्तिलाई मात्र चिने, अनि विश्वास गरे।
जसका कारण यस्तो अवस्था आएको हो। सुधीर र इच्छाराजको ओरेण्टल र सिभिल थिएन, सिभिल र ओरेण्टल त तपाइँ सदस्यको नै थियो। तर पनि सदस्य रोडमा आउनु, आन्दोलन गर्नु भनेको आफूले आफैलाई धोका दिनु हो। संस्थामा व्यक्ति गलत भए त्यसलाई निकालेर संस्थाका सदस्यले नै संचालन गर्ने अधिकार सहकारी कानूनले दिएको छ।
तर पनि खै त्यसो गर्न प्रयाससम्म पनि कतै गरेको पाइन्न, कतै सदस्य नै चुक्यौं कि? जिम्मेवार सदस्य भएनौं कि? सदस्य, सदस्य कम कारोबारी बढी भयौं कि? ब्याज खाने संस्थाका रुपमा मात्र सहकारीलाई हेर्यौ कि? सहकारीमा सदस्यको दायित्व के हो? त्यो बुझ्ने प्रयास गरेनौँ र आज हामी आफ्नै संस्था प्रति नारा जुलुस गरेर आफैलाई घाटा पुर्याइरेका छौँ कि ? हामी सदस्यले हाम्रो जिम्मेवारी, कर्तव्य र अधिकार केही हेरेका छैनौं-
त्यसैले सुधीर, इच्छाराज र रामबहादुर जस्ता पात्रहरु जन्मिए अनि सदस्यले दु:ख पाएका हुन्। सहकारी आफैमा नराम्रो संस्था हैन, गलत पात्रका कारण उनीहरुको गलत कृयाकलापलाई सरोकारवालाहरुले संरक्षण गरेका कारण समस्या आएको हो।
समस्यामा रहेका गौतमश्री, ओरेण्टल, सिभिलफलगायतका संस्था संचालन गर्ने तपाइ सदस्यले नै आँट गर्ने हो भने सहकारीमा समस्या आउँदैन र सहकारी बदनाम हुँदैन पनि। त्यसैले हिजोका दिनका घटनालाई हेरेर सदस्यले सहकारीलाई समस्याको जालोबाट तार्न सक्नेछन्। सदस्य जागरुक हुन आवश्यक छ। तपाइँ सदस्य नै सहकारीको मालिक हो, तपाई यसको ब्याज मात्र खान खाेज्ने लाेभी साहु हैन।
त्यसैले सबैले सहकारीका समस्यालाई कम गर्न पहल गरौं, गलत मनसाय भएका व्यक्तिलाई बहिष्कार गरौं! समस्या आउन नदिने प्रयास गरौं! सहकारीका सदस्यसंग सहकारी विभाग र सहकारी महासंघले छलफल गरी ती संस्थाहरुलाई संचालन गर्ने वातावरण तयार गर्न आवश्यक छ।
समस्या आइसक्यो, यसलाई निराकरण गरी सहकारीलाई सहीरुपमा संचालन गर्न धैर्यकासाथ संयमित भएर सदस्यले पनि साथ दिनु पर्छ। सरोकारवालाहरुले सहकारीकाे जय गाउन सदस्यको मर्का बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्छ, बेवास्ता गर्न मिल्दैन। यसो गरेमा दुबैतर्फ जीतको सुनिश्चितता छ। अनि आदरणीय सदस्यले पनि भन्ने, गर्ने छन्- जय सहकारी !
धेरै मानिसहरुले सहकारी नबुझेर कारोबारी सदस्यको व्यवहार गरिरहेका छन्। सदस्यलाई सहकारी बुझाउने जिम्मा यी निकायको हो। सदस्यलाई सम्बोधन गर्नु ती निकायको कर्तव्य हो। समस्या आइसकेको छ, समस्याबाट ती निकाय भाग्ने चेष्टा गर्नुभन्दा समस्या समाधान गर्नतर्फ जानु उचित हो।
सदस्यले सहकारीलाई जय सहकारी भन्ने वातावरण तयार गर्नु ती निकायको जिम्मेवारी हो। तत् निकायले सदस्यहरुलाई २०१३ सालबाट सुरु भएको नेपालको सहकारी अभियानले ६६ वर्ष पार गर्दा के उपलब्धि हासिल गर्यो भन्ने बुझाउनु आवश्यक छ।
सहकारी इतिहासलाई केलाएर हेर्दा सहकारीको योगदानको मूल्याङ्कन भयो कि भएन अनुसन्धान गरेर संस्थागत गर्न जरुरी छ। देशभर ३० हजार सहकारीमा ७० लाख आदरणीय सदस्यहरु आबद्ध भएको तथ्याङ्क देखिन्छ। आजको दिनमा सहकारीको संख्या र यसमा आबद्ध हुनेको संख्यामा वृद्धि पक्कै गरेको छ।
सहकारीले दूरदराजमा वित्तीय पहुँचका साथै बचत जागृति ल्याएको छ। यो क्षमता अन्य संघ, संस्थामा शायदै होला। एउटा मानिस जन्मेदेखि मृत्युपर्यन्त सहकारीबाट सेवा पाइरहेको हुन्छ। समाजका हरेक पाटोसंग जोडिएर सहकारीले सेवा प्रदान गरिरहेको हुन्छ।
सदस्यको घरमा बच्चा जन्मियो भने, सुत्केरी भेट्न सहकारी आउँछ। सदस्यको घरमा मृत्यु भयो भने समवेदना बोकेर सहकारी नै आउँछ। समाजको कला संस्कृति जगेर्नामा सहकारी सकृय छ। सदस्यलाई आपत विपद् पर्यो भने राहतको पोको बोकेर सहकारी नै पहिला आउँछ।
सहकारीले व्यक्ति, समाज र राष्ट्रकालागि काम गरेको छ- यति मात्र हो कि यसको तथ्याङ्क छैन्। तथ्याङ्क राख्न, तेसलाई केलाएर निर्क्याैलमा पुगी याे क्षेत्रलाई अझ परिमार्जन सहित विकसित गर्नमा सरोकारवालाले चासो दिएनन्। सहकारीमा समस्या छैन भन्न मिल्दैन त्यो पनि छ, तर सहकारीका समस्या न्यून छन्, जुन केही सहकारीमा छन्।
ती सहकारीको पहिचान गरेर सरोकारवालाहरुले समयमै निराकरणको बाटो नखोज्नाले सहकारीका समस्या बजार भएका छन्। खाइ नखाई जोहो गरेको सुका मोहरमा नीयत खराब भएकाहरू सहकारी-बाटोमा पसेर जथाभावी काराेबार गरिदिंदा, भविष्यको सपना तुहाइदिंदा स्वभाविकरुपमा बचतकर्ता आन्दोलित हुने नै भए।
तर उनीहरुको समस्यालाई सरोकारवालाहरुले उचित सम्बोधन गर्नुपर्छ। बाराम्बार यी समस्या आउन नदिन सम्बन्धित निकायले के गरे त? यो प्रश्न सदस्यले सोध्नुपर्यो, जवाफ खोज्नुपर्यो। केही संख्यामा भएका यस्ता घटनाहरु बेलैमा समाधानको बाटो नखोजे गल्ती गर्ने नीयत भएकाको संख्या बढ्ने छ।
समस्या आइसक्यो, यसलाई निराकरण गरी सहकारीलाई सहीरुपमा संचालन गर्न धैर्यकासाथ संयमित भएर सदस्यले पनि साथ दिनु पर्छ। सरोकारवालाहरुले सहकारीकाे जय गाउन सदस्यको मर्का बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्छ, बेवास्ता गर्न मिल्दैन। यसो गरेमा दुबैतर्फ जीतको सुनिश्चितता छ। अनि आदरणीय सदस्यले पनि भन्ने, गर्ने छन्- जय सहकारी !
Leave a comment