हाइलाइट

सहकारीमा निर्णय लेखन अस्पष्ट हुँदा सुशासनमा चुनौती 

सहकारीमा निर्णय लेखन अस्पष्ट हुँदा सुशासनमा चुनौती  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरूको अनुगमनका क्रममा निर्णय प्रक्रिया अपुरो र अस्पष्ट देखिने गरेको भन्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्ना सदस्य संस्थाहरूका लागि ‘निर्णय लेखन तालिम’ प्रदान गरेको छ । सहकारी ऐन, नियम र सिद्धान्त अनुरूप संस्थाका बैठकका निर्णयहरूलाई कानुनी र व्यावहारिक रूपमा सवल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

राधे राधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित तालिममा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, उपसमिति सदस्य र व्यवस्थापक गरी ३५ जनाको सहभागिता रहेको थियो । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले तालिमको सहजीकरण गरेका थिए ।

तालिमको समापन समारोहमा संघका अध्यक्ष हरि कृष्ण बल्लले धेरैजसो सहकारीको अनुगमन गर्दा निर्णयहरू पूर्ण नभएको र अस्पष्ट पाइएको बताए । उनले भने, “सहकारीको ऐन, नियम र सिद्धान्त अनुसार निर्णय लेख्नुपर्छ । निर्णय स्पष्ट र पारदर्शी हुँदा मात्रै अनुगमनका क्रममा सहज हुन्छ र संस्थाको जवाफदेहिता बढ्छ, ।

उनले धेरै तालिम दिँदा पनि संस्थामा व्यावहारिक सुधार नहुँदा दुःख लागेको भन्दै सिकेका कुरालाई तत्काल व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । कार्यक्रमका सभापति, संघका संचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले जिल्ला संघले सधैं सहकारीहरूको सम्बद्र्धन र प्रवद्र्धनका लागि काम गर्दै आएको बताए ।

तालिमबाट प्राप्त ज्ञानले कार्यालय सञ्चालन र वैधानिक कागजात तयार पार्न कोसेढुङ्गा सावित हुने उनको बिचार थियो । समापन समारोहमा तालिम व्यवस्थापन उपसमिति सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन उपसमिति सदस्य भिमसेन श्रेष्ठले गरेका थिए ।

तालिममा सहभागी इन्दिरा पोखरेल र केपि सुवालले आफूहरूले खोजेको र नबुझेको विषयमा स्पष्ट हुन पाएकोमा खुसी व्यक्त गरे । “हामीले जे खोजेका थियौँ, त्यही पाइयो । अब संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य रूपमा यस्ता तालिममा सहभागी हुनुपर्ने र अन्य सदस्यलाई पनि यसबारे प्रशिक्षित गर्नुपर्ने महसुस भएको छ,“सहभागीहरूको सामूहिक धारणा थियो ।



Leave a comment