काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज चैत ३० गते विविध कार्यक्रम गरी १८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । साताब्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाएको संस्थाले समापनमा विभिन्न विधामा सदस्य तथा कर्मचारीलाई सम्मान समेत गरेको छ ।
चैत २० गते बृहत रक्तदान गरी बार्षिकोत्सवको सुरु गरेको संस्थाले सरसफाई, सदस्य उत्प्रेरणात्मक कार्यक्रम, महिला सदस्य लक्षित जागरण कार्यक्रम, जेष्ठ सदस्य लक्षित कार्यक्रम तथा फूटसल प्रतियोगितालगाएतका कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
हरेक वर्ष वार्षिकोत्सव तथा राष्ट्रिय सहकारी दिवसका दिनमा आयोजना गर्ने रक्तदान कार्यक्रममा नियमित रुपमा पाँच पटक र १० पटक रक्तदान गर्ने सदस्यहरुलाई क्रमशः ५ ग्राम र १० ग्रामको चाँदीको सिक्का सहित विशेष सम्मान गरेको छ ।
रगत अभावलाई केही मात्रामा भएपनि पुरा गर्ने उद्देश्यका साथ संस्थाले हरेक वर्ष रक्तदान गर्ने गरेको र मानवीय कार्यमा सहभागी भई नियमित रक्तदान गर्ने सदस्यहरुलाई हौसला प्रदान गर्न संस्थाले सम्मान गर्दै आएको संस्थाकी व्यवस्थापक राधा कडरियाको भनाइ छ । त्यसैगरी संस्थाले आयोजना गरेको फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विजेता टिमहरुलाई मेडल र ट्रफी प्रदान गरिएको थियो ।
संस्थाले ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई विशेष उपहार सहित स्थापना दिवसमा सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारी तर्फ मनोहरा मैनाली सम्मानित भएकी छन । संस्थाका अध्यक्ष पाठकले २०६४ साल चैत्र २० गते संस्थाले दर्ताको प्रमाणपत्र पाएको र सोही दिनदेखि संस्थाले विभिन्न गतिविधिको आयोजना गरी स्थापना दिवस मनाउने गरेको बताए ।
सहकारी अभियानको औपचारिक सुरुवात भएको दिनमा संस्थाको प्रमाण पत्र लिएकाले त्यसदिन पछि अभियानमा पाँच तारा साकोस पनि निरन्तर समाहित हुन पाएकोमा खुशी व्यक्त गरे । उनले चैत्र २० गते आफ्नो लागि सधैं स्मरणीय दिन भएको भन्दै अध्यक्ष पाठकले मानवीय कार्यमा योगदान पुर्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन सुरु गरेको जानकारी दिए ।
संस्थाले दर्ता प्रमाण लिएको १० दिनपछि बैशाख १ गतेबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बताउँदै उनले ३२ जना सदस्य र सानो पुँजीबाट संस्था सुरु गरेको स्मरण गरे । उनले भने,‘जसरी अहिले सहकारी क्षेत्रको विश्वास डगमगाएको छ, हामीले सहकारी सुरु गर्दाको अवस्था पनि झन्डै यस्तै थियो । संस्था दर्ताका लागि लालपुर्जा माग्दा आफ्नै परिवारका सदस्यले विश्वास गरेनन् ।
विगतमा भावनामा बगेर सदस्यहरुलाई चाहिने भन्दा बढी ऋण लगानी गर्दा आफुहरु पनि पीडित बनेको र सहकारीबाट लिएको ऋण समयमा भुक्तानी गर्नु सदस्यको दायित्व भएको उनले उल्लेख गरे । सदस्यले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा संस्थाहरु समस्यामा परेको र ऋणीले समयमा ऋण तिरे ८० प्रतिशत समस्या समाधान हुने उनको दावी छ ।
सहकारी क्षेत्रमा एउटै व्यक्ति धेरै ठाउँमा भयो कि भन्ने आवाज सुनिने गरेको भन्दै अध्यक्ष पाठकले सुरुवाती चरणमा १५ सय मासिक तलब दिएर व्यवस्थापक नियुक्त गरेको उनले सुनाए । संस्थाले सुरुवातदेखि नै मितव्यायिता अपनाएकाले संस्थाको आफ्नै भवन र बलियो संस्थागत पुँजी कायम भएको उल्लेख गरे ।
संस्थाले स्थापना कालदेखि नै ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको भन्दै उनले अभियानमा यस्तो कार्य गर्ने पाँच तारा पहिलो संस्था भएको दावी गरे । बचत तथा ऋणका माध्यमबाट सदस्यको आर्थिक रुपान्तरणसँगै सामाजिक कार्यमा पनि संस्था अगाडि रहेको पाठकको भनाई छ ।
विगतमा संस्थाले हरेक बर्ष सहकारी अभियन्ता सम्मान प्रदान गर्ने गरेकोमा यस वर्षबाट भने हरेक दुइ वर्षमा सम्मान गर्ने र पुरस्कार राशी ५१ हजार १११ पु¥याउने निर्णय सञ्चालक समितिले गरेको उनले जानकरी दिए । संस्थाका सञ्चालक सुशील प्रसाईले सञ्चालन गरेको कार्यक्रममा जेष्ठ सदस्य डम्बर बहादुर तुम्बाहाङ्फे, छत्रभुषण दाहाल र नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पाँच तारा त्यस क्षेत्रकै अग्रणी संस्था भएको भन्दै सदस्यको सहारा बन्न सकेको उल्लेख गरे ।
Leave a comment