काठमाडौं । सहकारी विभागले साझा सहकारी संस्थाका ऋणीहरुको विवरण बुझाउने म्याद भदौं एक गतेसम्मका लागि थप गरेको छ । यसअघि साउन १७ गतेसम्मका लागि मात्र समय तोकेकोमा मंगलबार सूचना जारी गर्दै विभागले समय थप गरेको हो ।
यसअघि विभागले गत असार १५ गते सूचना जारी गर्दै साझा सहकारीबाट ऋण लिएको ऋणीहरूको विवरण मागेको थियो । सरकारले चालु आर्थिक वर्षकोे बजेटमा साझा सहकारीबाट किसानले लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । साझा संस्था खोज्न सरकारले विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
विभागको सूचनामा साझा सहकारीलाई हालसम्म तिर्न, बुझाउन बाँकी रहेको साँवा, ब्याज र हर्जनासमेत जम्मा तिर्नुपर्ने दायित्वको विवरण मागिएको छ । त्यस्तै संस्थाको नाममा रोक्का रहेको जग्गा र रोक्का राख्ने बैंकको विवरण पनि पठाउनुपर्ने छ ।
यस्तै विभागले विवरण संकलनका लागि राष्ट्रिय सहकारी महासंघसहित प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रार कार्यालय, स्थानीय तह, विषयगत संघहरु, जिल्ला संघहरुलाई सहजीकरण गर्न निर्देशन दिएको छ ।
Leave a comment