हाइलाइट

सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी

सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी :: Sahakari Akhabar

काठमाडौं । सहकारीका समस्या निराकरण गर्न अभियानका तर्फबाट प्राविधिक कमिटी गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा प्राविधिक टिम बनाएर सहकारीको निरीक्षण गर्न गृहकार्य सुरु भएको हो । 

महासंघका अध्यक्ष मिनराज कँडेलले तरलता अभाव भएका सहकारीको समस्या निराकरण गर्न अनुगमन गर्न लागिएको बताए । कतिपय सहकारीका सञ्चालक भागेपछि मात्रै अभियानले थाहा पाउने गरेका छन् । धेरै जसो सहकारी अभियानको निगरानीमा पनि छैनन् । अध्यक्ष कँडेलले तरलता अभाव भएको संस्थाको मागका आधारमा समस्या समाधान गर्न सकिने बताउँछन् ।

‘प्राविधिक कमिटीमार्फत समाधान गर्न सक्छौं’ कँडेल भन्छन्, ‘गत बिहीबार छलफल भएर प्राविधिक कमिटी गठन गर्ने निर्णय भइसकेको छ ।’ प्राविधिक कमिटीमा महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून तथा विषयगत केन्द्रीय संघ, बागमती प्रदेश संघ र बागमती बचत तथा ऋण सहकारी संघ, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला संघ लगायत हुनेछन् ।

‘प्राविधिक कमिटीले अनुगमन गर्ने, सुझाव दिने र तरलता अभावका कारण संकट भएको संस्था बचाउन पहल गर्ने छ’ कँडेलले भने । महासंघका सञ्चालक राजेन्द्र पौडेलको संयोजकत्वमा कमिटी गठन गर्ने तयारी भएको छ । पौडेलले सहकारी स्वनियमनमा सञ्चालन नभएको तथा नियमन पनि नभएकाले समस्या आएको बताउँछन् ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले तरलता अभाव भएका सहकारीलाई प्राविधिक कमिटीले जोगाउने बताए । नियत खराब भएका सहकारीलाई भने जोगाउन नसकिने उनले बताए । पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले पछिल्लो समयमा हप्तामा एउटा सहकारीको समस्या देखा परिरहेको बताए ।

विषयगत केन्द्रीय संघले सक्रियता नदेखाउँदा सहकारीमा समस्या आएको उनको भनाइ छ । ‘संघहरुले कारोबार गर्दा सुशासनमा रहन सिकाउनुपर्छ’, मैनाली भन्छन्, ‘सहकारी अभियान विषयान्तर भयो ।’ सहकारीलाई सुशासनमा ल्याउन कसैको चासो नभएको उनले बताए ।

नियमन निकायको क्षमता विकास नगरेको, दोस्रो तहको नियमन पनि अघि नबढाइएको, संसद जस्तो लेखा समितिलाई सञ्चालकको छायाँमा राख्न खोजिएको, सदस्यमा सहकारीप्रति चासो र चिन्ता नहुँदा सहकारीमा समस्या आएको मैनाली बताउँछन् ।

सहकारी संस्थागत तथा व्यवसायिक हुन नसकेको उनले बताए । मूल्य, मान्यतामा चल्न नसक्दा सहकारी समस्यामा छन् । कतिपय सहकारी विषयगत संघमा नआउँदा पनि समस्या भएको उनको बुझाइ छ । पूर्व सहकारी सचिव केदार न्यौपानले सहकारी सहाकारी धन्दामा लागेकाले समस्या आएको बताए । सहकारीमा सही मान्छे नआउँदा झन् भद्रगोल भएको उनको भनाइ छ ।

‘अभियान पनि सुशासनमा नभएका कारण सहकारीको समस्या समाधान गर्न उनीहरुले गर्न सक्दैनन्,’ न्यौपाने भन्छन्, ‘अधिकांश केन्द्रीय संघ सुशासनमै नभएकाले समस्या समाधान गर्लान् भनेर विश्वास गर्न सकिदैँन।’



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000