सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी

सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी :: Sahakari Akhabar

काठमाडौं । सहकारीका समस्या निराकरण गर्न अभियानका तर्फबाट प्राविधिक कमिटी गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा प्राविधिक टिम बनाएर सहकारीको निरीक्षण गर्न गृहकार्य सुरु भएको हो । 

महासंघका अध्यक्ष मिनराज कँडेलले तरलता अभाव भएका सहकारीको समस्या निराकरण गर्न अनुगमन गर्न लागिएको बताए । कतिपय सहकारीका सञ्चालक भागेपछि मात्रै अभियानले थाहा पाउने गरेका छन् । धेरै जसो सहकारी अभियानको निगरानीमा पनि छैनन् । अध्यक्ष कँडेलले तरलता अभाव भएको संस्थाको मागका आधारमा समस्या समाधान गर्न सकिने बताउँछन् ।

‘प्राविधिक कमिटीमार्फत समाधान गर्न सक्छौं’ कँडेल भन्छन्, ‘गत बिहीबार छलफल भएर प्राविधिक कमिटी गठन गर्ने निर्णय भइसकेको छ ।’ प्राविधिक कमिटीमा महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून तथा विषयगत केन्द्रीय संघ, बागमती प्रदेश संघ र बागमती बचत तथा ऋण सहकारी संघ, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला संघ लगायत हुनेछन् ।

‘प्राविधिक कमिटीले अनुगमन गर्ने, सुझाव दिने र तरलता अभावका कारण संकट भएको संस्था बचाउन पहल गर्ने छ’ कँडेलले भने । महासंघका सञ्चालक राजेन्द्र पौडेलको संयोजकत्वमा कमिटी गठन गर्ने तयारी भएको छ । पौडेलले सहकारी स्वनियमनमा सञ्चालन नभएको तथा नियमन पनि नभएकाले समस्या आएको बताउँछन् ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले तरलता अभाव भएका सहकारीलाई प्राविधिक कमिटीले जोगाउने बताए । नियत खराब भएका सहकारीलाई भने जोगाउन नसकिने उनले बताए । पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले पछिल्लो समयमा हप्तामा एउटा सहकारीको समस्या देखा परिरहेको बताए ।

विषयगत केन्द्रीय संघले सक्रियता नदेखाउँदा सहकारीमा समस्या आएको उनको भनाइ छ । ‘संघहरुले कारोबार गर्दा सुशासनमा रहन सिकाउनुपर्छ’, मैनाली भन्छन्, ‘सहकारी अभियान विषयान्तर भयो ।’ सहकारीलाई सुशासनमा ल्याउन कसैको चासो नभएको उनले बताए ।

नियमन निकायको क्षमता विकास नगरेको, दोस्रो तहको नियमन पनि अघि नबढाइएको, संसद जस्तो लेखा समितिलाई सञ्चालकको छायाँमा राख्न खोजिएको, सदस्यमा सहकारीप्रति चासो र चिन्ता नहुँदा सहकारीमा समस्या आएको मैनाली बताउँछन् ।

सहकारी संस्थागत तथा व्यवसायिक हुन नसकेको उनले बताए । मूल्य, मान्यतामा चल्न नसक्दा सहकारी समस्यामा छन् । कतिपय सहकारी विषयगत संघमा नआउँदा पनि समस्या भएको उनको बुझाइ छ । पूर्व सहकारी सचिव केदार न्यौपानले सहकारी सहाकारी धन्दामा लागेकाले समस्या आएको बताए । सहकारीमा सही मान्छे नआउँदा झन् भद्रगोल भएको उनको भनाइ छ ।

‘अभियान पनि सुशासनमा नभएका कारण सहकारीको समस्या समाधान गर्न उनीहरुले गर्न सक्दैनन्,’ न्यौपाने भन्छन्, ‘अधिकांश केन्द्रीय संघ सुशासनमै नभएकाले समस्या समाधान गर्लान् भनेर विश्वास गर्न सकिदैँन।’



Leave a comment