काभ्रेको बुडोल सामूदायिक बचत तथा ऋण सहकारीमा मैले स्थापनाकाल २०५७ सालदेखि जोडिएर काम गरेको हो । सुरुमा सातामा ५० रुपैयाँ पारिश्रमिकमा काम गर्थे । म यस संस्थाको सदस्य पनि हो । त्यसकारण हिसाब किताब राख्नका लागि महिनाको २ सय रुपैयाँ दिने गरिन्थ्यो । सुरुमा संस्था सानो थियो । कार्यालय पनि राख्न सकिएको थिएन । हिसाब किताब राख्ने जिम्मेवारी पाउँदै गर्दा प्लस टु अध्ययन गर्दै थिएँ ।
त्यसपछि कर्मचारी राख्ने कुरो भयो । कार्यालय सचिवमा नियुक्त भए । त्यतिबेला महिनामा एक हजार रुपैयाँ पाउन थाले । यो २०५८ सालको कुरा हो । थोरै सदस्य, थोरै पुँजी थियो । विस्तारै सदस्य, कर्मचारी बढ्दै गए। ३ वर्षपछि व्यवस्थापकमा नियुक्त भएँ । पछिल्लो समयमा प्रमुख कार्यकारी अधिकृत रहेर पनि काम गरेँ । जुनसकै पदमा रहेपनि व्यवस्थापन प्रमुख भएर नै काम गरेँ ।
म ४० वर्षको पुगेँ । मेरा अगाडी दुईवटा विकल्प देखिए । जागिरमा निरन्तरता दिने कि आफै केही गर्ने ? मलाई जागिर भन्दा सुरक्षित र भरपर्दो आफैं काम गर्दा हुने देखेर सिइओ छोड्ने निधो गरे । व्यवस्थापनको जिम्मेवारीबाट छोडेपनि म सिंगो सहकारी अभियानमा भने सँगै छु । अब जागिर खान भने कतै जाँदैन । यहीँ पनि सेवा सुविधा राम्रै थियो ।
अन्यत्र जाँदा पनि अवसर थियो । सहकारी, बैंक तथा वित्तीय संस्थामा पनि बोलाएका थिए । तर, आफैं व्यापार÷व्यवसाय गर्ने सोच पलाएकाले सहकारीको जिम्मेवारी छोडेको हुँ । उहाँहरुले निरन्तरता दिन प्रयास गर्नुभएको थियो । तर, मैले नै दोस्रो व्यक्तिलाई जिम्मेवारी सुम्पेर सहकारीबाट बाहिरिएको छु ।
म २०७२ मा नेफ्स्कूनबाट उत्कृष्ट व्यवस्थापकका रुपमा पुरस्कृत पनि भएको छु । त्यस्तै राष्ट्रिय, सहकारी महासंघ र नेफ्स्कूनबाट उत्कृष्ट संस्थाको रुपमा बुडोल सामुदायिक सहकारी पुरस्कृत भएको छ । नेफ्स्कूनबाट सुरुमा मध्यमाञ्चलको रुपमा उत्कृष्ट सहकारी रुपमा पुरस्कृत भयो । नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी भएर सिल्भर ब्राण्ड पनि पाएको छ ।
एउटै संस्थामा मैले साढे २१ वर्ष पूरा गरे । सहकारी समुदायमा आधारित भएपनि मेरो त जागिर नै हो । जागिर निरन्तर गर्ने कि स्वतन्त्र भएर व्यवसाय गर्ने भन्ने अन्योलमा परे । साढे २१ वर्ष जागिर गरिसकेकाले फरक ढंगले आफैं काम गर्ने योजनाले जित्यो ।
जागिर लाइफ त्यस्तै हो । बन्धन छ । अहिले जागिरमा निरन्तरता दिदाँ केही वर्षपछि नयाँ केही गरौं भनेर चाहेर पनि गर्न सकिदैँन । त्यसकारण अब जागिर खाने होइन । व्यवसाय गर्नुपर्छ भनेर सहकारीको जिम्मेवारीबाट अलग भएको छु ।
सहकारीमा बसेर लामो अनुभव, पहिचान, नेटवर्क बनाएको छु । धेरै कुरा बुभ्न पाएको छु । मलाई उत्पादन क्षेत्रमै जोडिने मन छ । समय अनुकुल नभएपनि उत्पादन क्षेत्रमा काम गर्ने मेरो रुची छ । उत्पादन क्षेत्रमा मात्रै भर परेर मात्र बस्न सकिने अवस्था छैन् । कृषि तथा पशुपालन क्षेत्रमा थोरै भएपनि काम गर्ने योजना छ । केही गर्न सकिने आत्मविश्वास छ ।
सेवामूलक व्यापार पनि सुरु गर्ने योजना छ । यसो हुँदा सफलता प्राप्त हुनेमा विश्वस्त पनि छु । सानो भोलुममा भएपनि व्यापार व्यवसायका क्षेत्रमा लगानी गर्ने तयारी गर्र्दैछु ।
सहकारी संस्था एउटा लेभलमा पुगेको छ । साच्चिकै सिइओ भएर बस्ने वातावरण बल्ल बनेको छ । सञ्चालकहरुले सेवा सुविधा नपुगेको भए बढाउने प्रतिवद्धता पनि दिनुभएको थियो । सेवा सुविधा कम भएको भए पनि जागिरै गर्ने योजना भएको अन्यत्र जान सकिन्थ्यो । मलाई जागिरको रहर पूरा भएको हो ।
काम गर्ने सिलसिलामा मैले कहिल्यै पनि सेवा सुविधा दावी गरिन । संस्थाले राम्रो सेवा सुविधा दिएको छ । मैले संस्थामा आफै पदस्थापन गरेर प्रमुख कार्यकारी प्रमुखको भूमिकाबाट बाहिरिएको छु । संस्थामा कुनै भूमिका रहेर काम गर्छु । संस्थाप्रति कुरो कुनै विमती छैन । चित्त नबुझेर छोडेको पनि होइन ।
म सहकारी अभियान छोडेर बाहिर जाँदिन । सिकेका ज्ञान, सिप, अनुभवहरुलाई प्रशिक्षकका रुपमा अरुलाई बाँड्ने योजना पनि छ । साकोस म्यानेजर क्लव काभ्रेको सल्लाहकार भएको नाताले पनि सहकारी अभियानमा मेरो योगदान जारी रहन्छ । यसका साथसाथै सामान किन्ने, सामान बेच्ने काम गर्छु ।
कृषि, पशुपालनमा रहर भएपनि धेरै लगानी नगरी काम गर्छु । किसानले उचित मूल्य नपाउने गरेको सुनिने गरेकाले कृषिमै भर पर्ने अवस्था छैन । हामीलाई चाहिने कृषि पेशा भएपनि कृषि र कृषक अपहेलित छन् । तरकारी, अन्न यहाँ उत्पादन हुन नसकी बाहिरबाट आएको छ । किसानले उचित मूल्य पाएका छैनन् ।
समग्रबाट सहकारी क्षेत्रमा २ दशक भन्दा बढी समय बिताएकाले जागिर छोडेपनि यो क्षेत्र मेरो दिमागमा रहीरहन्छ । तालिम दिने क्रममा पनि यस्ता कुराले चर्चा पाउने छ । तत्काल केही नगरेपनि आवश्यक गृहकार्य गरिरहेको छुँ । केही महिनापछि व्यवसायमा अवश्य जोडिने छुँ । (कुराकानीमा आधारित)
Leave a comment