भैरहवा । सहकारी संस्थामा जम्मा भएको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै आलोचना भइरहेका बेला भैरहवामा सञ्चालित सहकारीहरूले भने किराना पसलदेखि कृषिजन्य उद्योगमा अवौं लगानी गरेका छन् । जिल्लामा सहकारीको ऋण किराना पसल खोल्नदेखि कृषि फार्म र उद्योग संचालन प्रयोग हुँदा हजारौं युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रूपन्देहीले जनाएको छ ।
संघका अनुसार जिल्लाका सहकारी संस्थाहरूले करिब १५ अर्बभन्दा धेरै ऋण लगानी गरेका छन् । त्यसमध्ये अधिकांश ऋण कृषि क्षेत्रमा भएको छ । सहकारीको ऋणबाट कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैंसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
उनीहरुले युवावर्गलाई लक्षित गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरेको बताइएको छ । लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीको आँकडाले देखाउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका–५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिए ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरू लगायतमा सहज रूपमा लगानी गरेको बताइन् । बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको जनाउँदै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न उनले सबैलाई आग्रह गरिन् ।
सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पु¥याएको आफन्त बचत तथा ऋण सहकारी संस्था धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले बताए । नेपालमा सजिलो तरिकाले ऋण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको विश्वास बढिरहेको उनको भनाई छ ।
सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायमूलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण सिग्देलले बताए । ‘दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका सहकारीले अर्थतन्त्रलाई माथि उकास्न टेवा दिइरहेका छन्’ उनले भने ।
लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी पालिका मातहतमा भएकाले स्थानीय सरकारसँगको सहकार्यमा उत्पादनमुलक क्षेत्र तथा युवा स्वरोजगारमा भूमिका खेलिरहेको दावी गरे ।
Leave a comment