विराटनगर । मोरङका विभिन्न सहकारीले १९ औं धान दिवस विविध कार्यक्रम गरि मनाएका छन् । मोरङको उर्लाबारीमा रहेको नारि सृजना कृषि सहकारी संस्थाले पनि विविध कार्यक्रम गरी धान दिवस मनाएको छ।
उर्लाबारी ७ बैंसाबारीमा सहकारीको जग्गामा धान रोपेर दिवस मनाएको हो । रोपाईको सुरुवात उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेले गरेका थिए । त्यसपछि सहकारीका शेयर सदस्य तथा अन्य सहभागिहरुले धान रोपेका थिए ।
धान रोपाई कार्यक्रममा नगर प्रमुख खरेलले कृषि क्षेत्रबाटै देशको आर्थिक विकास गर्न सकिने बताए । उनले असार १५ गते तथा धान दिवसको दिन मात्र हैन असारभरि रमाईलो तथा उत्साहका साथ काम गर्नुपर्ने उल्लेख गरे । दिवस दिवसको रुपमा मात्र नभई कृषि क्षेत्रको विकासका रुपमा मनाउनुपर्ने उनको भनाई छ ।
सहकारीकी अध्यक्ष पुष्पाकुमारी राजभण्डारीले सहकारीले बर्षेनी असार १५ गते धान दिवस मनाउँदै आएको बताईन । त्यसैगरी विराटनगर महानगरपालिका १ मा रहेको सचेतना कृषि सहकारी संस्थाले पनि विविध कार्यक्रमको आयोजना गरि धान दिवस मनाएको छ । कृषि क्षेत्रको विकासको लागि काम गर्ने भनेर स्थापना गरिएको सहकारीले कृषि सम्वन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सहकारीका अध्यक्ष लोकेन्द्र थापाका अनुसार पारिको हैन, बारीको खानुपर्छ भन्ने अभियानलाई सार्थकता दिलाउनको लागि सहकारीले काम गरिरहेको छ । त्यस्तै रंगेली नगरपालिकामा रहेको ग्रामलक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाले पनि विविध कार्यक्रमको आयोजना गरि धान दिवस मनाएको छ ।
‘कृष वित्त व्यापार र उपयोग जोडि समृद्ध समाजको निर्माण ग्राम लक्ष्मीको अभियान’ भन्ने मुल नाराका साथ धान दिवस मनाएको हो । रंगेली नगरपालिका ४ स्थित जन्ता माध्यमिक बिधालय को १५ बिधा खेती १० बर्ष का लागि लिजमा लिएर बिधिवत रुपमा धान खेतीबाट सहकारीले खेती सुरु गरेको छ ।




Leave a comment