कनकलक्ष्मी साकोसमा ३१ लाख रुपैया हिनामिना 

कनकलक्ष्मी साकोसमा ३१ लाख रुपैया हिनामिना  :: Sahakari Akhabar

अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा जानकारी गराउने अधिकारीले जानकारी दिए ।

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ३१  लाख रुपैया हिनामिना भएको पाईएको छ । २ वर्ष अघि ८ वटा सहकारी मर्ज भएर बनेको सहकारी संस्थामा बचतकर्ताको बचत रकम हिनामिना भएको हो ।

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेको पाईएको सहकारीले जनाएको छ । उनले संस्थामा नियमित रुपमा कारोबार गर्न नआउने व्यक्तिको खाताको प्रयोग गर्ने गरेको र चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न अह्राउने गरेको पाईएको हो ।

संस्थाको सफ्टवेयरबाट रसिद काटिए पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएकोे पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । शुक्रबार पैसा गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको उनले बताए ।

रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर १ दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करीब ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।

वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आले मगर र वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।

हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानीमा लगाएको होला भन्ने केही शेयर सदस्यले बताएपछि २ महिनाको समय दिइएको अध्यक्ष अधिकारीले बताए । संस्थाका सदस्यलाई मार पर्नेगरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारवाही हुने उनको भनाई छ ।

अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्टार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए । रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आइडी दिइने गरेको थियो ।

सोही क्रममा उनले सो आइडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ । सो संस्थाका ६ वटा सेवा केन्द्रहरु रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।

संस्थाका शेयर सदस्यले रकम हिनामिना गर्ने कर्मचारीलाई कानुनी कार्वाही गर्नुपर्ने बताउँदै आएका छन् । प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई किन छाडियो भन्ने विषय गम्भीर रहेको र कतै सञ्चालकको पनि मिलेमतो त छैन भन्ने शंका उब्जिएको शेयर सदस्य रामकृष्ण खड्का बताउँछन् ।

तर, अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा जानकारी गराउने अधिकारीले जानकारी दिए ।

सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ वटा सहकारी संस्था २ वर्ष अघि २०७७ साल असार २९ गते गोठगाउँमा एक कार्यक्रम गरी मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो ।

सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था, गुराँस बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, न्यू नमुना बचत तथा ऋण सहकारी संस्था, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, घरआँगन बचत तथा ऋण सहकारी संस्था र प्रारम्भ बचत तथा ऋण सहकारी संस्था एकापसमा गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।



Leave a comment