विभागले हालसम्म ११ हजार ४१३ सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरेपनि हालसम्म ७ हजार सहकारीले मात्र लगइन गरेका छन् । तर यसबाट नियमित तथ्यांक पठाउने सहकारीको संख्या भने अत्यन्तै न्यून छ।
काठमाडौं । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) मा समष्टिगत सूचना नराख्ने सहकारी संस्थाहरुले संघिय सहकारी विभागबाट कुनै पनि सेवा नपाउने भएका छन् । सहकारी संस्थाहरुलाई कोपोमिसमा आवद्ध गराउने अभियानमा लागेको विभागले सेवा सुविधा लिनका लागि समेत कोपोमिसमा आवद्ध हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।
यसअघि विभागले आन्तरिक राजश्व विभागलाई करचुक्ता प्रमाणपत्र लिनका लागि सहकारीहरुले कोपोमिसमा विवरण बुझाएको हुनुपर्ने व्यवस्था गर्न अनुरोध गरेको छ । विभागको पत्रपछि आन्तरिक राजश्वले सम्पूर्ण कार्यालयहरुले परिपत्र गरी कोपोमिसमा तथ्यांक प्रविष्ट गरेको यकिन गरेर मात्र कर चुक्ता प्रमाणपत्र दिन सर्कुलर गरिसकेको छ ।
‘करचुक्ता प्रमाणपत्र लिनका लागि कोपोमिसमा तथ्यांक राख्नुपर्ने व्यवस्थाका लागि आन्तरिक राजश्व विभागबाट परिपत्र भइसकेको छ’ विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले भने, ‘अब विभागबाट कुनै प्रकारका सेवा लिनका लागि समेत कोपोमिस अनिवार्य गर्दैछौं ।’ सहकारी संस्थाहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका सिफारीस लिनका समेत कोपोसिममा आवद्ध हुनु अनिवार्य गर्ने उनले जनाए ।
कोपोमिस संचालनमा आएको लामो समयसम्म पनि यसको कार्यान्वयन हुन नसकेपछि यसलाई प्रभावकारी बनाउन रजिष्ट्रार पण्डितले प्राथमिकता दिएका छन् । उनले चालु आर्थिक वर्षभित्र कोपोसिमा १५ हजार सहकारीको तथ्यांक समाविष्ट गर्ने लक्ष्य राखेपनि त्यसअनुसार प्रगति भने हुन सकेको छैन ।
कोपोमिस कार्यान्वयन प्रभावकारी बनाउन विभागकै अनुरोधमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकसहित विषयगत केन्द्रीय सहकारी संघहरुले समेत समष्टिगत विवरण राख्न प्रारम्भिक संस्थाहरुलाई सूचना जारी गरेका छन् ।
लामो समयसम्म कोपोमिसमा आवद्ध हुनका लागि प्रोत्साहन मात्र गर्दै आएको विभागले अब आवद्ध नहुने सहकारीहरुलाई कारवाही समेत गर्ने तयारी पनि गरेको छ । कोपोमिस कार्यान्वयन गर्न नसकेको भन्दै विभागको नेतृत्व समेत आलोचित हुदै आएको छ ।
विभागले हालसम्म ११ हजार ४१३ सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरेपनि हालसम्म ७ हजार सहकारीले मात्र लगइन गरेका छन् । तर यसबाट नियमित तथ्यांक पठाउने सहकारीको संख्या भने अत्यन्तै न्यून छ ।
Leave a comment