मुलुकमै पहिलो कार्यक्रम आयोजना गरेका छौँ  : शर्मा

मुलुकमै पहिलो कार्यक्रम आयोजना गरेका छौँ  : शर्मा :: Sahakari Akhabar

जिल्ला सहकारी संघ, काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापनमा दुई दिने व्यवस्थापन प्रमुखहरुको गोष्ठी सुरु भएको छ । जिल्ला संघ स्तरबाट सम्भवत मुलुकमै पहिलो गोष्ठीको आयोजना गरिएको हो ।

सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि संघले दुई दिने गोष्ठी आयोजना गरेको हो । सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनिकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्यले दुई दिने गोष्ठीको आयोजना गरिएको संघका अध्यक्ष दिलिप शर्माले बताए ।

काभ्रेका सहकारीमार्फत २१ अर्बको पूँजी परिचालन भएको र त्यो पूँजीलाई उत्पादनसँग जोड्न सके रोजगारी सिर्जना र आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाई छ ।

सहकारीमा संकलित पूँजी अनुत्पादक क्षेत्रमा परिचालन भईरहेको सन्दर्भमा यस गोष्ठीले व्यवस्थापकहरुलाई आयआर्जन र उत्पादनमुलक क्षेत्रमा पूँजी परिचालन गरी वर्तमान तरलता संकट र सदस्यहरुको जीवनस्तरमा प्रभाव पार्ने गरी काम गर्न समेत सघाउन टेवा पुग्ने शर्माले बताए ।

सञ्चालक संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापकहरु नै भएकाले उनीहरुको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रुपमा अगाडि बढाउन टेवा पुग्ने सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले जिल्लामा पहिलोपटक यो कार्यक्रम गरिएको हो ।

विशेषतः बचत संघले यस्ता कार्यक्रम विगतमा गरेको भएपनि जिल्ला सहकारी संघले भने सम्भवत मुलुकमा नै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो । गोष्ठीले जिल्लाको सहकारी अभियानको समस्या समाधानका साथै एकताको सन्देश दिने समेत शर्मा बताउँछन् ।



Leave a comment