सहकारीमा बचत र कर्जाबीच असन्तुलन : २ % बचत बढ्दा १७ % कर्जा  

सहकारीमा बचत र कर्जाबीच असन्तुलन  : २ % बचत बढ्दा १७ % कर्जा   :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि बचत संकलन र कर्जा प्रवाहमा असन्तुलन देखिएको छ । पछिल्लो समय सहकारीको बचत संकलन घट्दै गएपनि कर्जा प्रवाहमा भने आक्रामक देखिएका छन् । जसको कारण सहकारी संस्थामा तरलता अभाव बढ्दै गएको छ ।

सहकारी संस्थाहरुको एकीकृत तथ्यांक नभएपनि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहकारीले बचत संकलन भन्दा ७ गुणा बढिले कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकले वागमती प्रदेका १० वटा सहकारी छनोट गरी अध्ययन गरेको थियो । ती सहकारीको बचत संकलन २.३ प्रतिशतले वृद्धि हुदा कर्जा प्रवाह भने १७.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नमुना अध्ययनमा छनोट भएका सहकारीहरुको पुँजी २०७८ पुस मसान्तसम्म ८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यी सहकारी संस्थाहरूमा रहेको कुल बचत रकम २०७७ पुस मसान्तको तुलनामा २.३ प्रतिशतले वृद्धि भई २०७८ पुस मसान्तमा १६ अर्ब ८ करोड पुगेको छ । यस अवधिमा कुल ऋण रकममा १७.२ प्रतिशतले वृद्धि भई १५ अर्ब ३७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययनमा समेटिएका सहकारी संस्थाहरुको २०७८ पुस मसान्तसम्म कुल १ लाख २४ हजार ७८४ सदस्यहरु र कुल ४७७ जना कर्मचारीहरु पुगेका छन् । यस अवधिमा छनौटमा समेटिएका सहकारी संस्थाहरुमा कर्मचारी संख्या ०.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिबारेको अध्ययनमा पनि सहकारीको कर्जा ६.२ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह २६.८ प्रतिशतले वृद्धि भएको पाईएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च गर्दा बैंकमा पनि कर्जा अभाव भइरहेको छ ।



Leave a comment