सहकारी चोरी योजना असफल भएपछि आगजनी

सहकारी चोरी योजना असफल भएपछि आगजनी :: Sahakari Akhabar

चीना थापा,विराटनगर । पछिल्लो समयमा झापाका सहकारी चोरी हुनेक्रम बढेको छ । केहि दिन अगाडि झापाकै एक सहकारीमा चोरी भएको थियो । तर प्रहरीले चोरलाई तुरुन्तै नगद सहित समात्न सफल भएको थियो । सोमबार बिहान मात्र झापाकै एक सहकारीमा चोरी गर्ने योजना असफल भएपछि सहकारीमा आगजनी गरेको छ ।

झापाको एक सहकारीमा चोरी गर्न गएको समूहले चोरी गर्ने अथक प्रयास फेल भएपछि आगजनी गरेर क्षति गरेको छ । झापाको कनकाई नगरपालिका ३ सुरुंगा बजारस्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको स्टोर रुममा सोमबार बिहान आगलागी भएको हो ।

आफ्नै भवनमा रहेको सो सहकारीमा आगलागी हुँदा सहकारीको सम्पूर्ण सामान तथा कागजपत्रहरू जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको वडाध्यक्ष युवराज चौलागाईंले जानकारी दिए । उनका अनुसार सुरुंगाकै सबैभन्दा पुरानो सो सहकारीमा एक हजारभन्दा धेरै सेयर सदस्य रहेका छन् ।

‘नजिकै टाँसिएर एउटा नयाँ भवन बन्दै छ,’ उनले भने, ‘सोही भवनबाट छानामाथि चढेर एउटा पातो उक्काएर भित्र छिरेको पाइयो । स्टोर रुमबाट मुख्य कोठामा छिर्ने ढोकामा दुइटा ताला रहेछन् । फुटाउन अथक प्रयास भएछ तर नसकेपछि आगजनी भएको पाइयो ।’

सोमबार बिहान राति १ बजेतिर सहकारीभित्र पसेको समूहले मूलगेट, सिसिटिभी क्यामेरालगायत लगाइएका ताला तोडेर क्षति गरेको उनको भनाइ छ । ‘ताल्चा तोड्ने अनेक प्रयास गर्दा पनि सफल भएनछन्,’ उनले थपे, ‘सहकारीको आर्थिक कारोबार हुने कक्षको ताला तोड्न असफल भएपछि माथिल्लो तलामा गई आगजनी गरी क्षति गरेको पाइयो।’

सो समूहले सहकारीको आर्थिक कक्षको समेत सबै तालाचाबी बिगारिदिएको उनले बताए । ‘म बिहान ७ बजेतिर घटनास्थल पुग्दा पनि कोठाको तापक्रम हिट थियो,’ उनले थपे, ‘पंखा जलेर छतमै डल्लो परेको थियो । आफ्नै भवनसमेत रहेका कारण थुप्रै क्षति भयो ।’

झापा प्रहरीका प्रवक्ता डिएसपी वसन्त पाठकले चोरीको अनेक प्रयासपछि आगजनी भएको आशंका गरिए पनि अनुसन्धान थालेका कारण अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए। ‘नजिकै रहेका सिसिटिभी फुटेज हेर्न थालेका छौँ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय सुरुंगाले अनुसन्धान गरिरहेको छ।

सहकारीको आफ्नै भवनमा अन्य व्यापारिक पसलहरू रहेको भए पनि सो लुटेरा समूहले सहकारीलाई लक्षित गरी मात्रै चोरी प्रयास र आगजनी गरेको उनले बताए । नगद चोरी हुन नपाए पनि आगजनीबाट सहकारीको तेस्रो तला जलेर क्षति पुगेको छ। कार्यालयका कागजात समेत जलेर नष्ट भएको छ ।

सहकारीमा लागेको आगो नेपाल प्रहरी, स्थानीय नागरिक र बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो। सुरक्षागार्ड नभएका कारण पनि सहकारीमा चोरीको प्रयास गरेको स्थानीय र सहकारीका पदाधिकारीले बताएका छन्।

यता, झापा प्रहरीका प्रवक्ता डिएसपी वसन्त पाठकले चोरीको अनेक प्रयासपछि आगजनी भएको आशंका गरिए पनि अनुसन्धान थालेका कारण अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए। ‘नजिकै रहेका सिसिटिभी फुटेज हेर्न थालेका छौँ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय सुरुंगाले अनुसन्धान गरिरहेको छ।

यसअघि पनि चोरीको घटना भएका कारण यो घटनालाई पनि चोरीकै आशंका गरेका छौँ ।’ केही दिन पहिलेमात्रै यसै सुरुंगा बजार आसपासमा साँझको समय सुभेक्षा बचत तथा ऋण सहकारीको ताला पनि तोडिएको थियो । प्रहरीले केही घण्टामै चोरीमा संग्लनलाई नगदसहित पक्राउ गरेको थियो ।



Leave a comment